सुनसरी/ ताप्लेजुङमा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले तोडफोड गरेका छन् । 

आइतवार गृहजिल्ला ताप्लेजुङमा भएको चियापान कार्यक्रमबाट फर्कने क्रममा फर्कने क्रममा सदरमुकाम फुङलिङको तोक्मेडाँडामा भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले तोडफोड गरेका हुन् ।

तोडफोडबाट गाडीको सिसा फुटेको छ । सात–आठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताए । 

गाडीको सिसा फुटे पनि मान्छेलाई केही नभएको खतिवडाले जानकारी दिए । तोडफोड गर्नु अघि सचिव भट्टराईलाई पहिचान पक्षधरहरूले कालो झण्डा देखाएका थिए । उनीहरुले चियापान कार्यक्रममा पनि अवरोध गरेका थिए । 

सचिव भट्टराई उपस्थित भएको भन्दै पहिचानवादीहरूले कार्यक्रम अवरोध गर्न पुगेका थिए ।

कार्यक्रमस्थल अगाडि पहिचानवादीहरूले नारा जुलुस गरेपछि एमालेका कार्यकर्ता र पहिचानवादीबीच ताप्लेजुङमा झडपसमेत भएको छ । झडपका क्रममा ५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पहिचानवादीहरूले घर अगाडि प्रदर्शन गर्ने क्रममा एमाले कार्यकर्ता र पहिचानवादी समूहका नेता कार्यकर्ताबीच झडप भएपछि प्रहरीले छुट्याएको थियो । प्रहरीको सुरक्षा तैनाथ गरिए पनि अवश्था सामान्य भएको थियो । त्यस पछि चियापान कार्यक्रम सुचारु गरिएको थियो । 

सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेवे र प्रदेश सांसद तीलकुमार मेन्याङवोले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका थिए ।

पहिचानवादीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने लगायतका माग गर्दै आएका छन् । उनीहरूले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।