धरान/ लामो समयसम्म सेन्सर बोर्डको झमेला सहेर प्रदर्शन हुन नसकेको सामना फिल्मस् प्रालिद्वारा निर्मित नेपाली चलचित्र ‘ काँडेतार’  सेन्सर पास भएपछि नेपाली सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ ।

फिल्मका निर्देशक तथा अभिनेता नवल खड्काको फिल्म काडेतारको शनिबार धरानमा पनि च्यारिटी शो प्रदर्शन हुने भएको छ ।

आगामी फागुन २५ गतेबाट देशभर  प्रदर्शनको तयारीमा रहेको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय रहेको छ ।

फिल्मको मुख्य भूमिकामा निर्देशक खड्का रहेका छन् । 

फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लमा हुन् ।

तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रूपमा छन् भने कार्यकारी निर्माता गायिका सत्यकला राई रहेकि खड्काले बताए । 

सरल तथा सहज दृश्य–प्रस्तुति र प्रविधिको उच्चतम प्रयोग भएका कारण नेपालीले हेर्नैपर्ने चलचित्र भएको निर्देशक खड्काले  च्यारिटी शो हेर्न प्रतिक्रिया दिएका थिए ।