धरान/ धरानमा अन्तर वडास्तरीय मितेरी फुटसल प्रतियोगिता यही पुष १६ गतेदेखि आयोजना हुने भएको छ । 

धरान ११ स्थित मितेरी फुटसलले बुधबार पत्रकार सम्मेलन गर्दै पुष १६ गतेदेखि २० गतेसम्म वडास्तरीय प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । मितेरी फुटसलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा धरानको २० वटै वडाको टिम सहभागी हुने अध्यक्ष लुकेन्द्र राईले जानकारी दिए ।

प्रतियोगिता आफ्नै खर्चमा आयोजना हुने पनि उनले बताए ।

प्रतियोगिताको विजेताले ७० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी, हाई स्कोरर, उत्कृष्ट प्रशिक्षक, उदयीमान खेलाडी र म्यान अफ दि म्याचको पुरस्कार पनि दिइनेछ । प्रतियोगिताको अनुमानित बजेट २ लाख ५० हजार हुने आयोजकको भनाई छ । 

अध्यक्ष राईका अनुसार फुटसलका उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

उत्कृष्ट खेलाडी चयन गरेर सिटी क्लबसँग सहकार्य गरि फुटसल एकेडेमी चलाउने योजना रहेको पनि उनले बताए ।

प्रशिक्षक एवं फुटबलका पुर्वखेलाडी सागर घिमिरेले फुटसलको विकासमा केही गर्ने मितेरीको प्रयासलाई साथ दिएको बताए । उनले नेपालमै धेरै फुटसल धरानमा भएको र राम्रो खेलाडी उत्पादन गर्न सकिने पनि बताए ।