विराटनगर/ झापा, मोरङ र सुनसरीमा हुलका हुल हात्ती पसेर उपद्रो मच्चाइरहेका छन् । महिनादिन अघि भारतबाट आएका हात्ती नफर्किएपछि जनधनमा ठूलो क्षति भइरहेको छ ।
पूर्वी तराईका तीन जिल्लाका जनता यतिबेला त्रासमा छन् । हात्ती आउने डरले स्थानीय रातभरी जागराम बसिरहेका छन् । धपाउन आगो बाल्नेदेखि पटका पड्काउने, हो–हल्ला गर्ने काम स्थानीयले गरिरहेका छन् ।
स्थानीय तहहरूले पनि हात्ती धपाउन प्रयास गरिरहेका छन् । आगो नियन्त्रण गर्ने दमकल समेत हात्ती धपाउन प्रयोग गर्ने गरिएको छ ।
साथै साइरनका माध्यमबाट धपाउने प्रयास पनि भइरहेको छ । तर दमकलको साइरनबाट समेत हात्ती भाग्न छोडेपछि मोरङको बेलबारीले नयाँ अभ्यास गरेको छ ।
झापाको भद्रपुर नगरपालिकामा यसअघि नै परीक्षण गरेको ड्रोनबाट हाती धपाउने प्रयास उसले गर्ने भएको हो । हात्ती धपाउन भनेर २४ वर्षका युवा अनिल प्रधान बेलबारीमा हात्ति धपायरहेका छन ।
साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी भएको प्रधानले बताएका छन् ।
उनले सानैदेखि इलेक्ट्रिकको माध्यमबाट समस्या समाधान गर्ने गरेका थिए । त्यसो त उनी आफैँ पनि हात्तीपीडित हुन् । हात्तीले दुःख दिएपछि आफैँले विभिन्न देशबाट सामग्रीहरू ल्याएर ड्रोन बनाएका थिए ।
यसमा भद्रपुर नगरपालिकाले समेत सहयोग गरेको थियो ।
‘मेरो आफ्नै चिया बगान पनि छ । यसले गर्दा घर आसपासमा जहिले पनि जंगली हात्ती आउने र दुःख दिने गर्थे ।
यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने विषयमा धेरै अध्ययन अनुसन्धान गरेँ । मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेला परेपछि मौरीको भुनभुन् आवाजलाई ड्रोनमा जडान गरेको छु,’ उनले भने ।
प्रधानले नजिकै लगेर ड्रोन उडाएपछि आवाज सुनेर हात्ती कराउदै आफू जुन बाटो आएको थियो त्यही बाटो फर्कने गरेको बताए ।
ठूलो आवाज आउने साइरन जोडेकाले हात्तीको कान छेउमा लगाएर उठाएपछि उ ठूलो आवाजका निकालेर गर्जँदै जंगलतिर भाग्ने गरेको उनले अनुभव साटे ।
यसरी हुलका हुल हात्ती धपाउने सकिने उनको तर्क छ । राति कतै हात्ती आयो भनेको खबर सुनेमा उनी ड्रोन बोकेर त्यतै जाने गरेका छन् । मध्यरातमा ४० किलोमिटर पर पुगेर पनि हात्ती धपाएको उनले सुनाए ।
प्रधानको सानैदेखि नयाँ–नयाँ खोज अनुसन्धान गर्ने गर्थे । कम्प्युटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा विशेष रुचि थियो उनको ।
पहिला–पहिला हात्ती धपाउन एक्लै हिड्ने गरेका प्रधानले अहिले भने समूह नै बनाएका छन् । नेपाली सेनाको इलेक्टोनिक्ससम्बन्धी काम उनको समूहले गरिरहेको छ । ‘हामीसँग २४ जनाको युवाको समूह छ । यी सबै दौतरी नै हुन्,’ उनले भने ।
समूह बनाए पनि प्रधानले हात्ती धपाउने कामलाई व्यवसाय नै बनाएका भने छैनन् । ड्रोनहरूमा समस्या आइरहने भएकाले बनाउन लाग्ने खर्च मात्रै लिने गरेको उनले बताए ।
‘हाम्रो पेशा व्यवसाय अर्कै छ,’ उनले भने ’सामाजिक उत्तरदायित्व सम्झेर काम गर्छौं । सामग्री फेर्नुपर्यो भने मात्रै पैसा लिन्छौँ ।’
सन् २००३ ताका अमेरिकी पिस्कोर स्वयंसेवकहरूले हात्ती लखेट्ने मौरीपालन गरेका थिए ।
मौरीका घार हात्ती हिँड्ने गौंडामा राख्ने गरिएको थियो । त्यहाँ टर्च बालेपछि मौरी बिच्किएर हात्तीलाई टोक्ने र उनीहरू भाग्ने विश्वासका साथ लखेट्ने गरेका थिए ।
तर त्यो पूर्णरुपमा असफल भएको थियो । मौरीको आवाज सुनेपछि भाग्ने बूढापाकाहरूको विश्वास रहेको छ । यता प्रधानले भने मौरीसँग मिल्दो–जुल्दो आवाज आउने ड्रोन बनाएका छन् । झापामा हात्ती धपाउन व्यावसायिक मौरी पालनसमेत गरिएको थियो । तर त्यो असफल भएको थियो ।
मौरीको आवाजको ड्रोनबाट हात्ती धपाउने प्रयास भने सफल भएको युवाहरूको दाबी छ ।
एक महिनाभित्रै ५ जनाको ज्यान गयो
जंगली हात्तीको आक्रमणबाट १ महिनामै झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको ज्यान गइसकेको छ ।
यी ३ जिल्लामा गत साउनयता ५० भन्दा बढी हात्ती आक्रमणका घटना भएका छन् ।
सो क्रममा ६ जना घाइतेसमेत भएका छन् । हात्तीको आक्रमणबाट झापा, मोरङ, सुनसरीसहित उदयपुर र इलाममा समेत गरी ३७ लाख ८५ हजार २०० मूल्य बराबरको जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
भारतको आसामबाट झापाको बाहुनडाँगी हुँदै मोरङको जंगल क्षेत्रबाट झण्डै ३७ वटा हात्तीको समूह पूर्वी तराई पसेको विवरण डिभिजन वन कार्यालयको छ ।
कार्यालयका अनुसार आहारको खोजीमा झापाको हुम्सेदुम्से, शान्तिनगर, बुधबारे हुँदै मोरङको उर्लाबारी, लेटाङ, मिक्लाजुङ, बेलबारी, कानेपोखरी, केराबारी र पथरीमा हरेक वर्ष हुलका हुल हात्ती आउने गरेका छन् ।
तर, यसअघि १०–१५ दिनमै आफ्ना गन्तव्यमा फर्किने गरेका हात्तीहरू यसपटक लामो समयसम्म नेपालमै बसेका छन् । हात्ती धपाउन स्थानीयलाई मात्र नभएर प्रशासनलाई नै चुनौतीको विषय भएको छ ।