धरान/ संविधानकै बर्खिलाप गरि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आफ्नो कार्यकक्षमा रहेको राष्ट्रपती र प्रधानमन्त्रीको फोटो हटाएर किराती राजा यलम्बरको फोटो राखे पछि धरानका ५ राजनितिक दलहरुले आपत्ति जनाएका छन् । 

प्रमुख राईले विहिबार आफ्नो कार्यकक्षमा रहेको राष्ट्रपती र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राखेका हुन् ।

संविधानको बर्खिलाप गरि राष्ट्रिय सम्मानमा आँच पुर्‍याएको ठहर गर्दै पाँच राजनितिक दलहरुले प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् । 

स्थानीय तहको कार्यालयमा नेपालको संविधान २०७२ को धारा ६१ बमोजिम राष्ट्रप्रमुख र प्रधानमन्त्रीको तस्वीर सविधानको रक्षक कार्यकारी प्रमुखको सम्मानमा राख्न सबैको कर्तव्य हुने भन्ने उल्लेख गरिएको जनाउँदै यसले धरान उपमहानगर प्रमुखबाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणाली माथि गम्भिर प्रहार भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘यसै प्रणालीलाई टेकेर अध्यावधिक निर्वाचन मार्फत निर्वाचित उपमहानगर प्रमुखले सविधानको ठाडो उलङघन गर्ने कार्य गरेको हाम्रो ठहर छ ।’ 

धरान उपमहानगरपालिकामा स्वतन्त्ररुपमा निर्वाचन भएर आए देखि नै निरन्तर रुपमा अराजकता, मनोमानी र उदण्डता प्रस्तुत गर्दै प्रमुख अगाडी बडको विज्ञप्तीमा लेखिएको छ ।

जसको कारण भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम बारम्बार भएको छ आरोप लगाएको छ ।

धरानका उपमहानगर प्रमुखको सामाजिक सन्जालको प्रस्तुती र गतिविधिले निरङकुश र उदण्ड शैली मार्फत हिटलरको बाटोमा हिडन खाजेको हुन भन्ने बहसलाई उजागर गरेको विज्ञप्तीमा लेखिएको छ । सुन्दर शान्त,

सभ्य र शिक्षित शहरको रुपमा विकसित हुदै गइरहेको धरान उपमहानगरपालिकालाई हास्य र लज्जाको शहरको रुपमा परिणत नगर्न नेतृत्वलाई सचेत गराउदै संविधान र राष्ट्र प्रति सोही प्रक्रियाबाट निर्वाचित भएका प्रमुखले राष्ट्र प्रमुख÷राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्वीर यथास्थानमा राख्न माग गरेको छ । 

विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, नेकपा एमालेका धरान उपमहानगर उपाध्यक्ष पारस काङमाङ राई, नेकपा माओवादीका कार्यवाहक अध्यक्ष सम्फर तामाङ, जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु, नेकपा एकिकृत समाजवादीका सचिव खेम प्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।