धरान/  धरान स्थापनाको अवसरमा पुस २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएको छ ।

त्यसमा प्रधानमन्त्री नआउने जनाउ पाएपछि प्रमुख अतिथि बिनै धरान उत्सवको उद्घाटन गर्ने तयारी मेयर राईले गरेका छन् ।

‘धरान उत्सव –२०८०’ को प्रमुख अतिथी उत्सवमा आएका एकजना बयो वृद्ध जेष्ठ नागरिकलाई बनाइने भएको छ ।

स्थापना दिवस भएको हिसाबले उत्सबमा आएका एकजना बयोवृद्ध जेष्ठ नागरिकलाई मंचमा चढाएर उहाकै हातबाट केक काटेर उदघाटन गर्ने उनले बताए ।

धरान स्थापना दिवसको अवसर पारेर सुरु गर्न लागिएको धरान उत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरिएको थियो ।

प्रधानमन्त्रीले समय उपलब्ध नगराएपछि साम्पाङ्गले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका थिए ।

प्रधानमन्त्रीले आफूलाई अपमान गरेकाले तस्बिर हटाएको उनले बताउँदै आएका छन् । तस्बिर राख्न गएका दलका भ्रातृ सङ्गठनका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले रोकेपछि भएको वार्तामा समेत साम्पाङ्गले प्रधानमन्त्रीलाई बोलाए मात्र तस्बिर राख्ने बताएका थिए ।

धरान उत्सवका लागि मङ्सिरको १७ गतेबाटै तयारी थालिएको बुधवार भएको पत्रकार सम्मेलनमा मेयर हर्कराज राईले बताए । उनले उत्सव उद्घाटनको अवसर पारेर पुस १९ गते नै सरसफाइ आयोजना गरिने जानकारी दिए ।

भोटे पुलमा रहेका हिमालयन पेट्रोल पम्पदेखि तिनकुनेसम्म सरसफाइ गरिने छ ।

धरान उत्सव भने पुस २० गते नै उद्घाटन गरिने छ । सो अवसरमा ¥याली आयोजना गरिने तथा २१ गते साइक्लिङ, साहित्यिक सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

पुस २२ गते वाकथन र विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिने छ । धरान उत्सवको अवसरमा लोकदोहोरी प्रतियोगिता र लगानी गोष्ठी समेत आयोजना गरिने तयारी भएको छ । 

उत्सवका बारेमा आवश्यक छलफल र तयारी नभएको भन्दै धरानमा मेयर राईको विरोध भइरहेको छ ।

धरानका उप प्रमुख आइन्द्र विक्रम बेघाले आवश्यक तयारीका विषयमा आफूलाई नभई मेयरलाइ सोध्न आग्रह गरे । उनले भने, ‘को प्रमुख अतिथि आउनु हुन्छ ? उहाँलाई थाहा छ । हामी धरान उत्सव मनाउने विषयमा भने एक छौं ।’