इनरुवा/ सुनसरीमा केही दशकअघिसम्म प्रायःजसो सबै ग्रामीण क्षेत्रका किसानले कोदो खेती गर्दथे । तर, अहिले कोदो खेती पूरै लोपोन्मुख अवस्थामा पुगेको किसानहरूले बताएका छन् ।

धान, गहुँ र मकैंबाट बढी आम्दानी हुने र उत्पादन पनि बढी हने भएकाले कोदो खेती छाड्दै जादाँ लोपोन्मुख अवस्थामा पुगेको गढी गाउँपालिका ३ का किसान सियालाल यादवले बताउँछन् ।

यादवका अनुसार स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदो बाली अहिले केही गाउँको कठ्ठामा सीमित भएको छ ।

रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै सहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । तर, कोदो खेती गर्ने किसान दिनहुँ घट्दै गएको किसानको भनाइ छ ।

पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भात र गहुँको रोटी भएकाले कोदो खेती विस्थापित भएको अर्का स्थानीय सुरेन्द्र यादवले गुनासो गरे ।

पहिला कोदोको रोटी नै मुख्या खाना भएपनि अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन नै भएकाले कोदो विस्थापित भएको यादवको भनाई छ ।

बराहक्षेत्र नगरपालिका ६ का अर्जुन चन्द्रबंशीले विगतमा विघौविघामा हुदै आएको कोदो बाली अहिले केहीले मात्रै घरका लागि आवश्यक पर्नेले बारीमा कोदो खेती गरेको भन्दै कोदो रोप्ने प्रचलन हटेको बताए ।

चन्द्रबशीका अनुसार केही किसानले भने एक दुई कठ्ठा र केहीले पाँच कठ्ठासम्म बराहक्षेत्र नगरपालिकाको श्रीलंका टाप्पुमा कोदो खेती गरिएको छ ।

अहिले सहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै शुन्य जस्तैमा पुगेको इनरुवा नगरपालिका किसान रामदेव मेहताले बताए । कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि माग अनुसार जिल्लामै आपूर्ति गर्न नसकेको किसानले बताएका छन् ।

कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको कृषि प्राविधिक भुवनेश्वर यादवले बताए ।

कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रुपमा समेत लिइन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल भएको गढी गाउँपालिकाका नरेश मेहताले बताए । कोदो अन्य बालीभन्दा लाभदायक भए पनि आकर्षण भने घट्दै गएको छ ।

बढ्दो सहरीकरणले किसानमा अल्छिपना बढ्दै गएकाले पनि कोदो खेती शुन्यतामा पुगेको छ ।

दुई दशक अघिसम्म गाउँघरमा हेपिएको खाद्यान्न कोदोको अहिले सहरबजारतिर खोजीखोजी खान थालिएकाले केहीले फेरी लगाउने सुरसार गरेको भएपनि विउको अभाव भएको किसान बताउँछन् ।

पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल भएको इनरुवा ९ का हरी मेहताले गुनासो गरे ।

धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिएका कारण लोप हुँदै गएको कृषि प्राविधिहरुको कथन छ । कोदो विश्वको कुल उत्पादनको एक प्रतिशतमात्र नेपालले उत्पादन गर्दै आएको तथ्यांक रहेको प्राविधिकहरुको कथन छ । कोदो उत्पादनमा नेपाल विश्वको १५ औँ स्थानमा पर्छ ।