वराहक्षेत्र/ प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिर परिसर क्षेत्रमा बर्सेनि सप्तकोशी नदीले गर्दै आएको कटानको दिगो नियन्त्रणको प्रयास थालिएको छ । 

वराहक्षेत्र नगरपालिकाको पहलमा कोशी प्रदेश सरकारले कटान नियन्त्रणका लागि दुई करोड बजेट विनियोजन  भएपछि कटानको स्थायी नियन्त्रणका लागि प्राविधिकले स्थलगत अध्ययन थालिएको हो । वराहक्षेत्र नगरपालिका–१ मा रहेको मन्दिर धर्तीको पहिलो तीर्थका रूपमा परिचित छ ।

वराहक्षेत्र मन्दिरसँगै जोडिएका बस्ती कोशी कटानको उच्च जोखिममा रहेका छन् । नगरपालिकाले संघीय र प्रदेश सरकारसँग समन्वय गरेर वर्षामा हुने कोशी कटान नियन्त्रणका लागि काम अगाडि बढाएको वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । 

नगरपालिकाले कोशी कटानको उच्च जोखिममा रहेको वराहक्षेत्र मन्दिरको संरक्षण र नदीको कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई आग्रह गरिएको थियो ।

मुख्यमन्त्री कार्कीले तत्कालै काम गर्ने गरी कटान नियन्त्रणका लागि दुई करोड बजेट प्रदेशबाट उपलब्ध गराउने भएपछि प्रदेश र नगरका प्राविधिकले स्थलगत अध्ययन थालेको नगर प्रमुख कार्कीले बताए । 

कटान नियन्त्रणका लागि शुक्रबार वराहक्षेत्र नगर प्रमुख रमेश कार्की, कोशी प्रदेश सरकारका पर्यटन विकास आयोजना प्रमुख कुलदीपप्रसाद यादव, वडा नम्बर १ का अध्यक्ष किसन थापामगर, वडा सदस्यकुमार भट्टराई,  पर्यटन विकास आयोजनाका इन्जिनियर जुनिल पौडेल, आर्जन वाग्ले र वराहक्षेत्र नगरपालिकाका सिनियर इन्जिनियर राजु भट्टराईसहितको टोलीले  स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणमा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।