धरान/ धरान उपमहानगरपालिकाले धरानको मूख्य सडक छेउमा राखिएका नीजि सवारी साधनलाई लिने गरेको पार्किङलाई लिएर सर्वत्र विरोध शुरु भएको छ ।

सार्वजनिक स्थलमा जथाभावि रुपमा पार्किङ लिएको विषयलाई धरानका सर्वसाधारण, राजनीतिक दलहरुले विरोध जनाएका हुन् ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर कमिटीले भानुचौकमा पार्किङ शुल्क हटाउनुपर्ने माग राख्दै हस्ताक्षर अभियान नै सञ्चालन गरेको छ ।

रास्वपाले यातायात कार्यालयले सडक करदेखि सबै कर लिइसकेको अवस्थामा धरान उपमहानगरपालिकाले अनाधिकृत रुपमा राजमार्गमा रोकिएका सवारी साधनको समेत सवारी कर लिन थालेकोले यसलाई हटाउनुपर्ने माग राँख्दै हस्ताक्षर अभियान शुरु गरेको बताएको छ ।

रास्वपाका कोशी प्रदेशका युवा तथा खेलकुद विभागका सदस्य राजेशमान श्रेष्ठले नीतिगत निर्णय नभएको, पार्किङ गरेको सवारी साधन हराएमा नगरपालिका जवाफदेहिता नरहेको, यातायात कार्यालयमै सडक कर तिरेपछि स्थानीय तहलाई समेत तिर्दा सर्वसाधारण मारमा परेको कारण यो कर व्यवहारिक नभएकोले पार्किङ शुल्क हँटाउनुपर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेको बताए । उनले हस्ताक्षरपछि धरान उपमहानगरपालिकमा बुझाइने बताए ।

यस विषयमा विगतदेखि नै सर्वसाधारणले समेत विरोध जनाउदै आएका थिए ।

हस्ताक्षर अभियानमा सहभागी हुन आएका विद्यार्थी विवेक कालिकोटेले एक पटक यातायातमा सडक कर तिरिसकेपछि राजमार्गमा राखेको मोटरसाइकलको पार्क तिर्नु आवश्यक नभए पनि जबरजस्ती लिने गरेकोप्रति आक्रोस पोखे । उनले यो पार्किङ शुल्क जायज नभएकोले हटाउन माग गरे ।

गत कार्तिक २४ गतेदेखि लागू हुने गरी धरान उपमहानगरपालिकाले लिङथेप एण्ड को कन्ट्रक्सन प्रालिलाई ७ लाख ४९ हजार २ सय ८२ रुपैयामा ठेक्का दिएर धमाधम पार्किङ शुल्क उठाउन थालिएपछि धरानका सर्वसाधारण, राजनीतिक दल, व्यापारिक प्रतिष्ठान, यातायात व्यवसायीले आक्रोशित बनेका हुन् ।

उपमहानगरपालिकाले २ सय ४९ दिनका लागि पार्किङ शुल्क उठाउन ठेक्का दिए पछि साना सवारी साधनलाई १० र ठूला सवारी साधनलाई २० उठाउन थालिएको छ ।