झापा/  झापाको हल्दीबारी गाउँपालिकाले गाउँपालिका भित्र बसोवास गर्ने सबै नागरिकलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराएको छ ।

गाउँसभाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै गाउँपालिका भित्र बसोवास गर्ने आम नागरिकलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताए । 

खानेपानीको १० हजार लिटरसम्म जनताले निःशुल्क पानी उपयोग गरेबापत खानेपानी उपभोक्ता समितिलाई पालिकाले आवश्यक सहयोग गर्ने जनाइएको छ ।

पानी निःशुल्क उपलब्ध गराए वापत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कर्मचारीहरुको मासिक तलब र विद्युत महसुल गाउँपालिकाले तिर्ने अध्यक्ष लिङ्देनको भनाइ छ ।

गोलधाप खानेपानी सरसफाई उपभोक्ता समितिसँग द्विपक्षीय सम्झौता गरी कार्यान्वयन समेत भइसकेको उनले बताए ।

जलथल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्तासँग शुल्क उठाउन थालेपछि यस विषयमा स्थानीय सरकारको ध्यानकर्षण भएको पनि लिङ्देनको भनाइ छ ।

स्थानीय सरकारसँग गरेको प्रतिबद्धता विपरित १० हजार लिटर समेतको महसुल संकलन गरिरहेको भनि आम उपभोक्ताहरुबाट जनगुनासाहरु आएकाले यस विषयमा आफुहरुको ध्यानकर्षण भएको गाउँपालिकाले जनाएको छ ।

उपभोक्ताहरुबाट रकम असुल गरेमा कारवाही गरिने जनाइएको छ ।

तत्कालै कार्यपालिकाको बैठक बसेर नगर सभाको निर्णय विपरित जलथल खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई निर्णयको हुने गरी त्यसो कार्य नगर्न नगराउन निर्देशन दिइ सकिएको पनि गाँउपालिका अध्यक्ष लिङ्देनले बताए ।