झापा/ दक्षिणी झापाको कचनकवलमा दैनिक हात्ती उपद्रो बढ्दै गएपछि स्थानीयमा त्रास बढेको छ ।
कचनकवलको १, ३ र ७ नम्वर वडामा दैनिक हात्तीको हुल आएर अन्नबाली खाइदिने, घर गोठमा क्षति गर्ने क्रम तीव्र गतिमा बढ्दै गएपछि स्थानीयमा त्रास बढेको हो ।
गएराति कचनकवल ३ डाँगीवारीमा हात्तीको एक हुल प्रवेश गरी ४ वटा घरमा क्षति पुर्याएको छ । मध्यरातमा ३ वटा जंगली हात्तीले कचनकवल ३ डाँगीवारी गाउँका धर्मप्रसाद पोखरेल,
आमवती माझी, ताला मुर्मु र कृष्णप्रसाद निरौलाको घर भत्काएका थिए भने भण्डारण गरेर राखेको धान चामल खाएको छ गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् ।
पछिल्लो समय झापामा घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट ज्यान गुमाउने क्रम पनि बढेको पाइएको छ ।
जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क उपलब्ध छैन ।
डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपाली सहित छ जनाको हात्ती आक्रमणमा ज्यान गएको छ भने छ जना घाइते भएका थिए । यसैगरी, विसं २०७९ मा सात जनाको मृत्यु र आठजना घाइते भएको समेत उनले जानकारी दिए । डेढ वर्षको अवधिमा छ हात्ती मरेको तथ्याङ्क वन कार्यालयमा रहेको छ ।
गत वर्ष तीन र चालु आर्थिक वर्षमा तीन गरी छ हात्ती मरेका हुन् ।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ । त्यसमा सात गैरनेपाली पनि छन् । एक दशकमा ७५ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ ।
मेचीपारि भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् ।
त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।
खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेल बताउँछन् ।
सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गर्न थालेका छन् ।
एक दशकयता नेपालकै जङ्गलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका वडा नं ३ का सीताराम वाँस्तोलाले बताए ।
एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्ने गरेका छन् । सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ ।
अधिकांश पीडितले बेलैमा सो रकम नपाएको गुनासो छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले १० लाख रूपैया राहत दिने व्यवस्था छ ।
सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत २० हजार रुपैयाँसम्म दिने कानुनी व्यवस्था छ ।
घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पु¥याएको अवस्थामा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन वन कार्यालयका अधिकृत पराजुलीले बताए ।