धरानर दश दिनदेखि बृद्धि भएको खानेपानी महसुल यथावथ बनाउनुपर्ने माग राख्दै आन्दोलित धरानका १० राजनीतिक दलहरुले आइतबार धरान १३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमा तालाबन्दी गरेका छन् ।

दश दलले आयोजना गरेको आन्दोलनको कार्यक्रममा धरानका सर्वसाधारणले समेत साथ दिएपछि आन्दोलन चर्किंदै गएको छ  ।

धरान २ सिंहदेवीचौकबाट जनता मार्न पाइँदैन, बृद्धि भएको महसुल फिर्ता गर लगायतका नारा लगाउँदै दलबलसहित बोर्डमा पुगेको समूहले बोर्डका अध्यक्ष हर्कराज राई, कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेल लगायतका कार्यकक्षमै तालाबन्दी गरेका हुन् ।

चरणबद्ध आन्दोलनमा उत्रिएका १० दलले खानीपानीको महसुल, जडान शुल्क, नामकारी लगायतका शीर्षका ९ हजार ९ सय प्रतिशतसम्म बृद्धि गरेपछि बृद्धि भएको महसुल यथावथ हुनुपर्ने माग राख्दै आएका थिए । पहिलो चरणमा ७२ घण्टे अल्मिेटम दिँदा समेत बोर्डका अध्यक्ष हर्कराज राईले अटेर गरेपछि उनीहरुले दोस्रो चरणको आन्दोलन घोषणा  गरेका थिए ।

सोही अनुरुप आज धरान २ सिंहदेवी चौकबाट नाराबाजीसहित निस्केको र्‍यालीले धरान १३ बोर्डको कार्यालयमा पुगेर तालाबन्दी गरेको हो ।

तालाबन्दी गर्दै आन्दोलनको नेतृत्व गरिरहेको दलमध्येको नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले लगाइएको ताला तोड्न खोजे र भोलि १० बजेभित्र कुनै सुनुवाई नभए धराने जनताले गरेको आन्दोलनबाट निम्तिने परिणाम बोर्ड नै जिम्मेबारी हुने चेतावनी  दिए ।

उनले भने–‘धराने जनता अब आन्दोलनमा होमिसकेका छन्, ७२ घण्टे अल्टिमेट दिँदा समेत वेवास्ता गरिएको थियो, भोलि १० बजेसम्म पनि आन्दोलनको कुनै सुनुवाई भएन भने भोलि हुने आन्दोलनबाट निस्किने परिणामको जिम्मा बोर्डले नै लिनुपर्छ ।दललाई धरानका सर्वसाधारणले समेत स्वस्फूर्त रुपमा आन्दोलनलाई सघाएका थिए ।

जनता समाजवादी पार्टीका नेता ताजुव लिम्बुले अचाक्ली वृद्धि गरेको पानीको आन्दोलनपश्चात वृद्धि गरेको करको विषयमा समेत आन्दोलन गर्ने चेतावनी दिए । उनले भने–‘हामी पानीको मात्र हैन, वृद्धि भएका र धराने जनतालाई करको भारी बोकाउदै आएको धरान उपमहानगरपालिकाविरुद्ध कर घटाउन पनि कडा आन्दोलनमा जान्छौै ।’

विगतमा धरान खानेपानी व्यवस्थापन बोर्डले नयाँ धारा जडानमा पाइपको साइज अनुसार १५ देखि २५ हजारसम्म लिने शुल्क अहिले २० हजारदेखि १ लाख सम्म पुर्याएको छ ।

यस्तै विगतमा होल्च चेन्जमा २ हजारदेखि ६ हजारसम्म लिँदै आएकोमा अहिले पाइपको साइज अनुसार ५ हजारदेखि २० हजारसम्म पुर्याएको छ । यस्ता धेरै शीर्षकमा अचाक्ली वृद्धि गरेपछि दश दलको आन्दोलनलाई धरानका सर्वसाधारणले समेत साथ दिएका छन् ।

उनीहरुले बृद्धि भएको महसुल साविककै नभएसम्म आन्दोलन कडा बनाएर जाने चेतावनी समेत दिएका छन् । 

हिजो अभियन्ता हुँदादेखि नै वर्तमान मेयरले बोकेका मुदालाई साथ र सहयोग गर्दै आएका इन्द्रबहादुर थापा आइतबार १० दलले आयोजना गरेको खानेपानीको महसुल बृद्धिमा समेत सरिक थिए ।

तत्कालीन मेयर तिलक राईले खानेपानी महसुल बढाउँदा आन्दोलन चर्काउनेमध्येका उनी अहिले मेयर राईलाई छोडर दश दलको आन्दोलनमा सरिक भएका छन् ।

उनले भने–‘हामी वेथितिको विरुद्धमा हौ, व्यक्ति जोसुकै होस्, हिजो हर्कराज राईले बोकेको एजेण्डामा हामी समर्थन जनाएर आन्दोलनमा जान्थ्यौ, विडम्बना खानेपानीकै एजेण्डा बोकेर मेयर जितेका राईले अचाक्ली रुपमा महसुल बृद्धि गरेपछि हामी मेयरकै विरुद्धमा आन्दोलनमा जानुपर्ने अवस्था आयो ।’

उनीजस्ता धेरै आइतबार दलहरुले गरेको आन्दोलमा सरिक थिए । आफू उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए खानेपानीको महसुल तिर्नै पर्दैन भनेर आश्वासन दिएका उनीहरु मेयरसँगै बोर्डको अध्यक्ष भएकै रवाफमा अचाकली महसुल वृद्धि गरेपछि बाध्य भएर आन्दोलनमा होमिनु बताउने गरेका छन् ।

यस्तै अभियन्ता हुदादेखि नै खानेपानीको मुद्धालाई साथ र सहयोग गदै आएका अशोक बज्राचार्यले समेत खुलेरै मेयर राईको विरोध गरे ।

उनले भने–‘हिजो नघाटाएसम्म बिल नतिर्नु भनेर फाइनमा डुबाए, जितेपछि निःशुल्क पानी खुवाउछु भन्थे अहिले त जनताको ढाड सेक्ने गरी मूल्य बढाए, पानीको बिल तिरेर खानै नसक्ने अवस्थामा पुर्‍याए, यसैको विरोधमा १० दलको आन्दोलनमा सरिक भएको हु ।’ यस्ता धेरै समूहरु आइतबार गरिएको विरोध कार्यक्रममा सरिक थिए ।

दलहरुको आन्दोलनलाई खुलेरै सहयोग गरेका थिए ।