धरान / विद्यालय हिडेका चार बालिका मंगलबार एकाएक हराए । घरबाट विद्यालय जान्छु भनेर हिडेका ती बालिकाहरु साँझसम्म घर नआएपछि विद्यार्थीका अभिभावकले इलाका प्रहरी कार्यालय धरानमा खोजी गरिपाउँ भनेर निवेदन दिएका थिए ।
मंगलबारबाट सम्पर्क बिहीन बनेपछि अभिभावहरुले हराएका बालिकाको खोजी कार्य गरेका थिए । उनीहरुले आफ्ना नजिकका नातेदार, उनीहरुका साथीहरुको घरमा पुगेर खोजी कार्य गरे पनि नभेटिएपछि अन्ततः उनीहरुले इलाकामा खोजीका लागि निवेदन दिन बाध्य भएका थिए
मंगलबारबाट हराए पनि प्रहरीमा ढिलागरी बुधबारमात्र अभिभावकले खोजीका लागि निवेदन दिएका थिए । प्रहरीमा खोजी कार्यका लागि निवेदन आएलगत्तै धरानप्रहरीले खोजी कार्यलाई तीव्रता दिएका थिए । तीव्रता दिने क्रममा बुधबार साँझ ७ बजे उनीहरुलाई प्रहरीले धरान १२ एनआइसी बैंक माथिबाट भेटाएको छ । सम्पर्कमा आएका उनीहरुको विषयमा धरान प्रहरीले बुझ्ने काम गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले हराएका बालिकाको खोजी कार्यलाई तीव्रता दिएसँगै उनीहरुलाई फेला पारेको बताएका छन् । उनले भने–‘विद्यालय गएका विद्यार्थी हराएको विषयमा अभिभावकले खोजी कार्यका लागि निवेदन दिएका थिए, प्रहरीको सक्रियतामा खोजी कार्यलाई तीव्रता बनाइएको थियो, उनीहरुलाई धरान १२ बाट फेला पारेका छौं ।’
उनले विद्यालय नै नपुगी हराएको भन्ने सुनिएको बताउँदै यस विषयमा बालिकाहरुसँग सोधपुछ गर्ने काम भइरहेको बताए । उनले भने–‘हामीले चारजना बालिका नै फेला पारिसकेका छौं, वास्तविकता के हो भन्ने कुरा हामी बुझ्ने काम गरिरहेका छौं ।’
मंंगलबार विद्यालय जाने भनी हिडेका धरान २ निकेतन गल्लीकी कक्षा ७ मा अध्ययनरत १४ बर्षीया बालिका, धरान १२ बस्ने ११ बर्षीय कक्षा ५ मा अध्ययनरत एक बालिका, धरान १४ की कक्षा ७ मा अध्ययनरत १४ बर्षीया बालिका र धरान २ की कक्षा ७ मा अध्ययनरत १४ बर्षीया बालिका रहेको प्रहरीले जनाएको छ ।