धरान / अँधेरी खोलाको एक घर भत्काउने क्रममा धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले आफूमाथि अभद्र व्यवहारसँगै घरमै गएर आक्रमण गरेको विषयमा उजुरी दिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर आरोपित सबै फरार रहेको धरान प्रहरीले जनाएको छ ।

santosh limbu pic-1

अनधिकृत रुपमा बनाइएको संरचना भत्काउने क्रममा वडाध्यक्ष लिम्बु घरमा नभएको समयमा घरका सदस्यमाथि कुटपिट गरेको विषयलाई लिएर आइतबारै वडाध्यक्षले इलाका प्रहरी कार्यालय धरानमा सुरक्षाको माग गर्दै धाकधम्की दिनेलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए ।

पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जन विरुद्ध वडाध्यक्ष मनप्रसादले उजुरी दिएका थिए । सामेल भएका सबैलाई  पक्राउ पुर्जी जारी भएको डिएपी श्रेष्ठले बताए  । उनले भने–‘ जाहेरीमा नाम उल्लेख भएका सबैविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आरोपित सबै फरार रहेको छन् । उनीहरुको खोजी कार्य प्रहरीले गरिरहेको छ ।’ 

पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मीले अगुवाईमा वडाअध्यक्ष घरमा नभएको बेला ठूलो समूह नै वडाध्यक्षको घरमा पुगेर वडाका सहयोगी कर्मचारी राजन राई, वडाअध्यक्षका छोरा दिपेनलगायतलाई कुटपिट गरेका भन्दै वडाध्यक्ष मनप्रसाद लिम्बुले इलाकामा किटानी जाहेरी दिएका थिए ।