इलाम /नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई भेटेर सान्त्वना दिएका छन् ।  

सूर्योदय नगरपालिका वडा नं. ११ केराबारीस्थित आचार्यको घरमा पुगेर शर्माले आचार्यले उठाएका विषयप्रति आफूहरु गम्भीर भएको बताएका थिए । उनले भने–‘तपाईंहरूको साथमा सिंगो देश उभिएको छ ।’

झापा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित शर्माले प्रेम आचार्यले उठाएका सरकारी प्रक्रियाबाट पाएको हैरानीको विषय नेपालमा नै रहेर केही गरौं भन्ने तमाम युवाहरूले भोगेको यथार्थतालाई मध्यनजर गरेर यसको समाधानका लागि सरकारलाई सहयोग गर्ने बताए । ‘सरकारी प्रक्रियाको हैरानी निकै कहालीलाग्दो छ,’ उनले भने – ‘सरकारले एउटा निर्णय गर्दैमा यो समाधान हुँदैन, सबैले सहयोग गर्नु पर्छ । प्रतिपक्षी दल भए पनि हामी सरकारी काम कारबाही चुस्त बनाउन सरकारलाई सहयोग गर्छौं ।’

आचार्यको काजक्रियामा रहेकी पत्नी नानुका आचार्य, उनका दाजु, छोरी, आमा र हजुरबुबासहित परिवारसँग कांग्रेस महामन्त्री शर्मासहित कांग्रेस इलामका सभापति डम्बर खड्का, सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बराल, झापा क्षेत्र १ का काँग्रेस सभापति इन्द्रबहादुर बुढाथोकीलगायतले भेट गरी मृतकप्रति श्रद्धाञ्जली र परिवारजनलाई समवेदना व्यक्त गरेका थिए ।