इलाम / इलाम नगरपालिकाले पिउने पानीमा चर्को रकम असुल्न थालेको भन्दै विरोध सुरु भएको छ । साना सहरी खानेपानी आयोजना सम्पन्न नै भइनसकी नगरपालिकाले वितरण गरेको खानेपानीको मूल्यमा चर्को महसुल असुल्न थालेको भन्दै विरोध सुरु भएको हो । नगरपालिकाले पुरानो पाइप र धारा विस्थापित गरेर नयाँ धाराबाट पानी वितरण गरेसँगै नगरबासीले पानीको मूल्यबारे चौतर्फी विरोध थालेका छन् ।

पुराना धारा विस्थापित गरी गत दुई महिनादेखि नयाँ धारा मार्फत् खानेपानी वितरण गरेको नगरपालिकाले पानीको बिल काटेसँगै चर्को मूल्यको चौतर्फी आलोचना सुरु भएको हो । इलाम नगरपालिका ९ का चूडामणि खनालले मङ्सिर र पौष महिनाको खानेपानीको बिल छ हजार भन्दा बढी आएको बताए ।

उनले भने–‘बिल बढी आएकोमा अचम्म लागेको छ, सिँचाई गरेको भनौँ खेत छैन, करेसाबारी तरकारी खेती भनौँ गमला राख्ने भन्दा ठाउँ छैन, होटेल सञ्चालन भनौँ त्यो पनि होइन, लुगा धुवाई व्यवसाय भनौँ त्यो पनि होईन, उद्योग कलकारखाना भनौँ त्यो पनि होइन, पानी मात्रै खाएको पनि होइन, दाल अन्न सागपात पनि खाइदै छ, पानीको बिल हेर्दा अचम्मै लागेको छ ।’ 

उनले पानी नआए पनि पानीको बिल धेरै आउँदा इलाम छोड्नु पर्ने अवस्था बताउँदै यति धेरैे महसुल नगरबासीले पक्कै तिर्न नसक्ने बताए । उनले भने–‘यस विषयमा सम्बन्धित निकायको ध्यान जाओस्, पानी महसुल दरमा पुनरावलोकन होस् ।’ उनले दुई महिनाको छ हजार तीन सय साठी रुपैयाँको बिल सहित सामाजिक सञ्जालमा प्रतिक्रिया समेत दिएका छन् ।

यस्तो गुनासो गर्ने खनालमात्र एक्ला हैनन् त्यस्तै गुनासो स्थानीय एलबी लुंगेली समेत गरेका छन्  उनले समेत छ हजार पाँच सय ३५को बिल आएको बताउँदै इलाम नगरपालिकाको खानेपानी शुल्कले घरबारी नै बेच्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जाल मार्फत् प्रतिक्रिया दिएका छन् ।

खानेपानीको शुल्कमा चौतर्फी विरोध आएसँगै इलाम नगरपालिकाले  इलाम बजार सहरी खानेपानी आयोजनाको खानेपानी उपभोक्ताहरूको मिटर रिडिङ्ग कार्य क्रमशः भइरहेको र नगरपालिका खानेपानी प्रणालीको खानेपानीको न्यूनतम महसुल दर पुरानो प्रणाली खानेपानी महसुल दुई सय ५० सरह नै रहेको जनाएको छ । 

आ.व. २०७७/७८ मा इलाम नगरसभाबाट प्रस्ताव गरिएको दररेटका आधारमा नै नयाँ खानेपानीको महसुल असुल भइरहेको बताएको छ । नगरपालिकाले सूचना जारी गर्दै नयाँ खानेपानीको खपत अङ्क अस्वाभाविक देखिएको गुनासो गरेका उपभोक्ताहरूको सम्बन्धमा प्राविधिक टोलीले अध्ययन गरिरहेको जनाउँदै नगरपालिकाले चाडै समाधान हुने जनाएको छ ।

नगरप्रमुख केदार थापाले चर्को मूल्यको विषय उठ्न साथ नगरपालिकाले यस विषयमा बुझ्दा प्रयोग भएकै पानीको शुल्क उठेको पाइएको बताए । उनले एउटा घरमा दश हजार लिटर सम्मको अन्डर ग्राउन्ड ट्याङ्की पाइएको र एकै घरमा २० देखि ३० जना सम्म बसोबास गरेको पाइएको बताए । थापाले नगरपालिकाले यस विषयमा प्रतिवेदन समेत तयार पारिरहेको भन्दै यसलाई तत्काल सार्वजनिक गर्ने प्रतिक्रिया दिए ।