धरान / धरानको भानुचोकमा शिवरात्रीको अवसर पारेर सुच्चा राई कल्याणकारी समाज सुनसरी र केन्द्रको संयुक्त आयोजनामा २३ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
धरान ६ लोकतान्त्रिक चौतारीमा आयोजना गरिएको सो कार्यक्रममा ७० पिन्ट रगत सङ्कलन भएको थियो । सङ्कलन भएको रगतमध्ये ४२ पुरुष र २८ महिलाले रक्तदान गरेको सुच्चा राई कल्याणकारी समाजका केन्द्रीय उपाध्यक्ष विनोस राईले जानकारी दिए ।
आफ्नो जातिको उत्थानसँगै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले कोरोनाको समयमा धरान उपमहानगरपालिकालाई ६२ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।
समाजमा सुनसरी अध्यक्ष श्रीकुमार राईको सभापतित्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
सुच्चा राईहरुलाई पनि सामाजसेवामा समर्पित गर्नकै लागि यो संस्था गठन गरिएको सुच्चा राई कल्याणकारी समाजका केन्द्रीय अध्यक्ष विनोद राईले बताए । उनले भने ‘सामाजिक काम गर्ने उद्देश्यकै लागि हामीले यो समाज गठन गरेका हौं, गठन भए यता धेरै काम गरेको छ ।’
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव भइरहने भएकोले समाजले गरेको रक्तदानबाट थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजमा सुनसरी अध्यक्ष श्रीकुमार राईले जानकारी दिए । सो रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले समेत रक्तदान गरेका थिए । उनले गरेको रक्तदान यो सँगै ३८ औँ पटक भएको डिएसपी मल्लले बताए ।