इलाम /  इलाममा निर्माणाधीन साना सहरी खानेपानी आयोजनामा निर्माण कम्पनीले गुणस्तरहीन संरचना निर्माण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानमा पेस गर्न इलाममा हस्ताक्षर सङ्कलन भएको छ । 

 खानेपानी निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिले चरम भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दर्ता गर्न एक सय २ हजार ५ भन्दा बढीको हस्ताक्षर सङ्कलन भएको छ । ठेकेदार कम्पनीले कमसल पाइप, कमसल मिटर जडान गरेको, ९० सेन्टिमिटर  पाइप गाड्नुपर्नेमा त्यो नगरेको, निर्माण संरचना गुणस्तरहीन भएको, ठेक्का सम्झौता विपरीत पुरानै मुहानबाट मात्र पानी वितरण गरेको भन्दै हस्ताक्षर सुरु गरेका हुन् । 

खानेपानीको अभावलाई समाधान गर्न एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा नेपाल सरकारले ७० प्रतिशत र ३० प्रतिशत उपभोक्ताले लगानी गर्ने गरी इलाम खानेपानी आयोजना उपभोक्ता समिति बनाएर कामको सुरु भएको थियो । काम गर्ने निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रा. लि. ले सम्झौतामा उल्लेखित सर्तहरू पूर्ण रुपमा पालना नगरी काम गरेको भन्दै आलोचना सुरु भएसँगै हस्ताक्षर सङ्कलन थालिएको हो । 

हाल खानेपानी नयाँ पाइपबाट वितरण भएता पनि पानी साबिककै गीताङ र भाडी खोला मात्र वितरणमा रहेको हुँदा सम्झौतामा उल्लेख भएको मेवा खोला र राते खोलाको काम नै सम्पन्न नभइसकेको हस्ताक्षर अभियान चलाउनेहरुको आरोप छ । उनीहरुले  पाइप फिटिङ गर्दा गुणस्तरहीन कार्य गरेको कारण मेवा खोला र राते खोलाको पानी नयाँ पाइपमा हाल्दा हाल बिछ्याइएको नयाँ पाइपले थेग्न नसक्ने अवस्था रहेको भन्दै निर्माण निवेदनको हस्ताक्षर सङ्कलन गरेका हुन ।

  हाल निर्माण कम्पनीले उपभोक्ताको घर घरमा जडान गरेको मिटर सम्झौता अनुसार मलेसियन कम्पनीको मिटर जडान गर्नुपर्नेमा निर्माण कम्पनीले गुणस्तरहीन मिटर बक्स जोडिएको गुनासो रहेको छ ।

निर्माण कम्पनीको लापरबाहीका कारण इलामको खानेपानी आयोजनाका संरचनाहरू दीर्घकालीन हुन नसक्ने भएको भन्दै निर्माण कम्पनीले खानेपानी आयोजना सम्पन्न गर्न नेपाल सरकारसँग गरेको सम्झौता विपरीत गुणस्तरहीन कार्य गरेको आरोप लगाउँदै  आयोजनाका संरचनाहरू सम्झौता बमोजिम कार्यान्वयन गरी सम्पन्न गराउन आन्दोलन सुरु गरेका हुन् । 

एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपैयाँमा खानेपानी आयोजनाको ठेक्का लागेको आयोजनाको सुरुमा नै प्रति घरधुरी १५ हजार २ सयका दरले रकम उठाइएको थियो ।