धरान / नेकपा एमालेको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियान (मिसन ग्रासरुट) अन्तर्गत धरानमा अभियान सुरु भएको छ । 

एमाले केन्द्रीय सचिवालयको गत माघ २६ को बैठकले फागुन चैतमा दुई महिने ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय गरेअनुसार धरानमा समेत २० वटै वडा र जनवर्गीय सङ्गठनका प्रदेश अभियन्ता, जिल्ला अभियन्ता र नगर अभियन्ताको कार्य विभाजन गरेको छ । 

Screenshot-(60)

गत फागुन १० गतेदेखि सुरु भएको अभियानका बारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले धरानले सङ्गठन निर्माण, जनताको समस्या समाधानमा र राष्ट्रियताका विषयमा निरन्तर सक्रिय रहने बताएको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको समूल अन्त्य गरेर नयाँ ढङ्गले पार्टी निर्माण गर्ने जानकारी दिएका छन् । वैशाख ९ पछि यो अभियानको स्वरुप परिवर्तन हुनेसमेत जानकारी गराइएको छ । 

Screenshot-(62)

अभियानमार्फत एमाले धरानले पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहमा पार्टी सदस्यको वास्तविक तथ्याङ्क, अवस्था, क्रियाशीलताबारे यथार्थ र वस्तुनिष्ठ जानकारी प्राप्त हुने अपेक्षा लिएको छ । 

अभियानमार्फत पार्टीको आधारभूत तह सैद्धान्तिक, राजनीतिक विषयमा प्रशिक्षित हुने र स्थानीय तहका अन्तरविरोधको पहिचान गरी समाधानका ठोस विकल्प प्राप्त गर्न सकिने उद्देश्य रहेको पार्टीका प्रदेश सचिवालय सदस्य प्रमोद सेर्पाले जनकारी दिए ।

साथै अभियानपश्चात पार्टीको प्रभाव विस्तार हुने, अनुशासन र एकताबद्ध हुने साथै पार्टीको सङ्गठनात्मक अवस्था सुदृढ हुने विश्वास उनको थियो । 

धरानले अभियानका क्रममा नगरस्तरमा जनवर्गीय सङ्गठनसमेत परिचालन गर्ने गरी कार्य विभाजन गरेको छ । 

अभियानमा युवा सङ्घ, अनेम सङ्घ, विद्यार्थी सङ्गठन, मजदुर सङ्गठन, मूक्ति समाज, मुस्लिम सङ्गठन, कर्मचारी शाखा र उद्योग वावसायी परिचालित हुनेछन् । 

चैत्र १७ र १८ मा नगर अधिवेशन

नेकपा एमाले धरान उपमहानगरपालिकाले आगामी चैत्र १७ र १८ मा नगर अधिवेशन गर्ने भएको छ । नगर अधिवेशनपछि धरानमा एमाले थप सशक्त बन्ने विश्वास लिइएको छ । नगर अधिवेशनका लागि आवश्यक तयारी र उपसमिति निर्माण गरिसकिएको जानकारी गराइएको छ ।