धरान /  मुलुकले तेस्रो राष्ट्रपति पाएको छ । विहीबार भएको निर्वाचनबाट नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएसँगै मुलुकले तेस्रो राष्ट्रपति पाएको हो

पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

प्राप्त निर्वाचन परिणाम अनुसार पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गरेका थिए । दुवै जोड्दा उनको मतभार ३३ हजार ८०२ भएको छ । यस्तै एमालेका सुवासचन्द्र नेम्वाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन् । उनको मतभार १५ हजार ५१८ मत भार हुन आउँछ

निर्वाचन अधिकृतका अनुसार निर्वाचनमा ८८४ मतदाता रहेकोमा ८३१ मतमात्र खसेको थियो । संघीय संसदका ३१३ र प्रदेशका ५१८ मत खसेको जनाइएको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

राष्ट्रपतिको निर्वाचनमा पार्टीले संस्थागत निर्णय गरेरै राप्रपाका १४ र नेमकिपाका १ गरी १५ सांसद तटस्थ रहेका थिए । चन्द्र भण्डारी र बर्षमान पुन विरामी भएका कारण मुलुकबाहिर उपचारमा रहेकाले निर्वाचनमा सहभागी भएका थिएनन् ।

एक जना निलम्बित सांसद  र एकजना सांसद फरार सूचीमा रहेकाले उनीहरु मतदानमा सहभागी भएनन् । यसैगरी गरी रवि लामिछाने गृहमन्त्री र सांसदबाटै पदमुक्त भएको र  जसपाकी एक सांसदको मृत्यु भएको कारण पद रिक्त रहेको छ । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादवले पनि मतदानमा भाग लिइनन् ।