धरान /  विद्यार्थीहरुले नेतृत्व चयनका लागि मतदानमा भाग लिएका छन् । धरानमा समेत तीन क्याम्पसका ७ हजार बढी विद्यार्थी आफ्नो नेतृत्व चयन गरेका छन् । 

२०६५ सालपछि स्ववियु निर्वाचन नियमित रूपमा हुन सकेको थिएन । विगतमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत हुने स्ववियु निर्वाचन  समानुपातिक प्रणालीबाट हुँदै छ । यो पटक २८ वर्ष उमेरभित्रका विद्यार्थीमात्र उम्मेदवार बन्न पाउने व्यवस्था रहेको छ ।

बिहान  ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको हो । 

धरानमा रहेका तीन आङ्गिक क्याम्पसमा निर्वाचन भएका भने नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको पिण्डेश्वर क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । 

धरानका महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस र पूर्वान्चल इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले सभापति, सचिव, कोषाध्यक्ष र आठ सदस्यका लागि मतदान सम्पन्न भएको छ  ।  महेन्द्र क्याम्पस मा ४ हजार ५ सय ५० विद्यार्थीको मतदाता नामावलीमा नाम रहेको छ भने प्रतिस्पर्धामा स्वतन्त्रसहित १० संगठन थिए । कुल मतातासंख्यामा २३०४ मत खसेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

यसैगरि तीनकुने स्थित पूर्वान्चल इन्जिनियरिङ क्याम्पसमा १ हजार ९ सय ४१ विद्यार्थी रहेका छन्् । यो ७  सङ्गठनले प्रतिस्पर्धा गरेका थिए । यो क्याम्पसमा १ हजार ८ सय १८ मत खसेको निर्वाचत अधिकृतले जानकारी दिए ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा १ हजार ७८ विद्यार्थी छन् भने स्वतन्त्रसहित ६ विद्यार्थी सङ्गठनले नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । यो  क्याम्पपसमा ८ सय ६८ मत खसेको जनाइएको छ ।

यसैबीच यो समाचार तयार पार्दासम्म पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा पनि मत परिणाम सम्पन्न भइसकेको निर्वाचन अधिकृत विनयलाल श्रेष्ठले जानकारी दिएका छन् ।

११ सदस्य प्रत्यक्ष निर्वाचनमा सभापतिमा नेविसँघका नविन श्रेष्ठ विजयी भएका छन् । यस्तै सचिवमा समाजवादी विद्यार्थी युनियनका उमेद्वार राजनकुमार यादव, कोषाध्यक्षमा नेविसंघका महेश्वरप्रसाद भट्ट निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा नेविसंघबाट क्रमश ःआयुश कार्की, पुरुषोत्तम रिजाल, सागर बस्याल, सेजल पोद्धार र अमिर कार्की निर्वाचित भएका छन् । यस्तै अनेरास्ववियुबाट विनिता गौतम र मनिषा कार्की र अनेश्ववियु क्रान्तिकारीबाट कर मगर निर्वाचित भएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।