ताप्लेजुङ /  ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आक्रमण प्रयास भएको भोलिपल्ट अर्थात मंगलबार नेकपा माओवादी केन्द्रका कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ ।

पार्टी जिल स्तरीय बैठकमा सहभागी हुन ताप्लेजुङको सदरमुकाम फुङलिङ पुगेका नेता आङ्बोमाथि एक समूहले आक्रमणको प्रयास गरेको भिडियो समेत सार्वजनिक भएको छ ।

सार्वजनिक भएको भिडियोमा भनिएको छ, ‘आङ्बोलाई प्रहरीले स्कटिङ गरेर लग्दै छ, यसलाई बाटो बाटो छेकेर यसको हत्या गर्ने लक्ष्य राखेर संघर्ष समिति अगाडि बढिरहेको छ, तपाईहरु जहाँ जहाँ रहनु भए पनि तैनाथ भएर आफ्नो चोक चेकमा बसिदिनु हामी हार्दिक अनुरोध गर्दछौं ।’

सार्वजनिक भएको भिडियोमा आक्रमणकारी आङ्बोको पछि पछि मोटर साइकलमा हिडेको दृश्य देख्न सकिन्न ।

आङ्बो चढेको् सवारी साधनमा समेत उनीहरुले क्षति पुर्‍याएका छन् ।  उनी चढेको सवारी साधनमा सामान्य क्षेती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

भिडियोमा आक्रमणकारीले तथानाम गालीगलौज गर्दै सबैतिर ढुकेर आङ्बोको हत्या गर्ने लक्ष्य रहेको बताएका छन् । नेता आङबोको सवारी साधनलाई ढुकेर बसेका प्रदर्शनकारीले ढुंगा प्रहार गरेको आङ्कोका स्वकीय सचिव पुन मगरातीले जानकारी दिए ।

फागुन १७ गते प्रदेशको नाम कोशी राखिएसँगै पहिचानवादीहरु आक्रोसित बन्दै चरणबद्ध आन्दोलनमा होमिएका छन् । आइतबार पनि मुख्यमन्त्री हिक्मतकुमार कार्की चढेको गाडीमा ओखलढुंगामा यस्तै प्रकारकोआक्रमण प्रयास भएको थियो ।