धरान / धरानमा केन्द्रित रहेको नेवारी समुदायको संस्था नेवार एकता समाज धरानले सामाजिक कार्य र साँस्कृतिक पहिचानलाई विगतदेखि नै जीवन्तता राख्दै आएको छ ।

नव कार्यसमिति निर्वाचित भएर आएपछि यसलाई अझै विस्तार गर्दै यसको सक्रियता अझै बढाउउने उद्देश्यले ‘वार्षिक कार्यक्रम तथा योजना– २०८०’ सार्वजनिक गरेको छ ।

धुलिखेल समाजको कार्यालयमा समाजले पत्रकार सम्मेलन गरी बार्षिक कार्यक्रम तथा योजना सार्वजनिक गरेको हो । केही समय अगाडि भएको निर्वाचनबाट सञ्चारकर्मी  महेश श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिले गठन भएको छ । सो समितिले गर्दै ११ बुँदे वार्षिक कार्यक्रम तथा योजना पत्रकार माझ  सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको कार्यक्रम तथा योजननामा साँस्कृतिक चेतनाको विस्तार, सार्वजनिक कार्यक्रममा सक्रियता र सांगठनिक सुदृढीकरण लगायतका कुरालाई समेटिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नव निर्वाचित अध्यक्ष महेश श्रेष्ठले विगतमा पनि सामुदायको विकाससँगै सांगठनिक सुदृढ, सामाजिक कार्यमा सक्रियता, नेवारहरुको पहिचान र सँस्कृतिको जगेर्नामा लागेको यो समाजले यसलाई अझ सशक्त बनाउने अभिप्रायले बार्षिक योजना र कार्यक्रम नै बनाएर अगाडि बढ्ने लक्ष्य लिएको बताए ।

सार्वजनिक गरेको कार्ययोजनामा समाजले विपन्न तथा असहाय युवायुवतीलाई उच्चशिक्षा अध्ययनको अवस्थाको सिर्जना गर्ने, अन्तरजातीय वैवाहिक सम्बन्धमा रहेका नेवार चेलीहरूको तथ्यांक संकलन गरेर उनीहरूलाई संगठित र सशक्तीकरण गर्ने,  नेवार एकता समाजको संगठन विस्तार गर्ने,  रुग्ण उद्योग तथा व्यवसायलाई परामर्श र नयाँ व्यवसाय स्थापना गर्ने अभियान संचालन गर्ने, नेवार एकता समाजको सदस्य संख्या एक वर्षमा ५ हजार पुर्‍र्याउन, नेवार एकता समाजको भवन निर्माणार्थ उपयुक्त स्थानमा जग्गा खरिद वा प्राप्तिको व्यवस्था गर्ने लगायतका रहेका छन् ।