इलाम / पर्यटकीय गन्तव्यका लागि परिचित इलामको सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवर्धन गर्न महोत्सव आयोजना गरिने भएको छ । ‘एकीकृत पर्यटनको प्रवर्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ महोत्सवको आयोजना गरिएको हो ।  चैत २४ देखि वैशाख १० सम्म विभिन्न कार्यक्रम आयोजना गरी ‘प्रथम सन्दकपुर महोत्सव’ तय गरिएको छ ।  

महोत्सवमा नयाँ वर्षको दिन (वैशाख १) म्याराथुन प्रतियोगिता आयोजना गरिएको छ । पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता सञ्चालन हुने भएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिएको छ ।

पुरुषतर्फको म्याराथुन इलाम नगरपालिका–१०, गोदकको नारायण चोकदेखि सन्दकपुरको सातखाल्डेसम्म र महिलाको चाहिँ इलाम बजारदेखि सातखाल्डेसम्मै राखिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए । उनका अनुसार पुरुषतर्फको म्याराथुन विजेताले अढाई लाख तथा महिलाको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।  

इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिँदैछ । ‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान–पर्यटन प्रवर्धन’ नारासहित आयोजना हुने प्रतियोगितामा पुरुषले इलाम नगरपालिका–१०, गोदकको नारायण चोकदेखि माइपोखरीको सातखाल्डेसम्म र महिलाले इलाम बजारदेखि सातखाल्डेसम्मै दौडिनुपर्नेछ ।

इलामका मेयर केदार थापाले इलामका पर्यटकीय गन्तव्यलाई खेलकुदका माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रिस्तरमा परिचित र चलायमान गराउन प्रतियोगिताले सघाउने बताए । ‘पर्यटनका माध्यमबाट आर्थिक क्रियाकलाप बढाउने, स्थानीय तहको सांस्कृतिक, सामाजिक, पर्यावरणीय विकास र प्रवर्धन गर्ने, नागरिकको जीवनशैली स्वस्थ तथा बहुआयामिक हिसाबले गुणस्तरीय बनाउने यसको लक्ष्य छ ।’ 

प्रतियोगितामा भाग लिन इलामसहित देशका विभिन्न जिल्लाबाट धावकहरू आउने आशा आयोजकले गरेको छ । आयोजक समितिका गणेश खतिवडाले नेपालमात्र नभइ विभिन्न देशका धावकले समेत यसमा अवसर पाउने बताए । ‘यो प्रतियोगितामा कसले भाग लिने, कसले नलिने भन्ने छैन, दौडिन आँट गर्ने सबैले यसमा भाग लिन पाउँछन्,’ खतिवडाले भने, ‘सबै हिसाबले यो प्रतियोगिताको तयारी बलियो बनाइएको छ ।’  प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले चैत मसान्तसम्ममा आयोजकसँग सम्पर्क गर्नुपर्नेछ ।

जिल्लाबाहिरबाट आउने धावकका लागि प्रतियोगिताको अघिल्लो दिनको खाना र बासको व्यवस्था आयोजकले गरेको छ। खतिवडाले निर्धारित समयमा दूरी पार गर्ने प्रतियोगीलाई थप १ दिन खाना र आवास व्यवस्था गरिने बताए ।  

 पुरुष म्याराथुनको दूरी पार गर्न ४ घन्टा १० मिनेट र महिलाका लागि २ घन्टा ५ मिनेट समय निर्धारण गरिएको छ । पुरुषतर्फ दोस्रो हुनेले डेढ लाख, तेस्रोले १ लाख, चौथोले ५० हजार, पाँचौंले ४० हजार, छैटौंले ३५ हजार सातौंले २५ हजार, आठौंले २० हजार, नवौंले १५ हजार र १०औं हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिलातर्फको म्याराथुनमा दोस्रोले ५० हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार र पाँचौंले १० हजार नगद पुरस्कार पाउने छन ।

महोत्सवमा आउने पर्यटकले जिल्लाकै अग्लो डाँडो सन्दकपुर, रामसार क्षेत्र माइपोखरीसहित छिन्टापु, मेची क्षेत्रकै अग्लो टोड्के झरनालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सक्ने छन । महोत्सवको मुख्य आकर्षणका रूपमा इलाम–माइपोखरी म्याराथुन, ल्यान्डरोभर सफारी, सन्दकपुर गोल्डकप, उच्च पहाडी क्षेत्रमा साइक्लिङ प्रतियोगिता, स्थानीय खानाका परिकार, कलाकारहरूको प्रस्तुतिलगायत राखिएका छन् । गुरुङ, राई, शेर्पा, सुनुवार, ब्राह्मण–क्षेत्रीलगायत जातजातिको बसोबास रहेको यो क्षेत्रमा आयोजित महोत्सवमा स्थानीय सांस्कृतिक झाँकी, याक, भोटे कुकुर तथा पर्यटकीयस्थलको भिडियो प्रदर्शनीसमेत राखिएको आयोजक मूल समारोह समितिले जनाएको छ ।

सन्दकपुर, मानेभञ्ज्याङ र सीमा जोडिएको भारतका दार्जिलिङ, कर्साङ, चिम्नी, टाइगरहिल, जोबवंगला, सुकियापोखरीतिरबाट पर्यटकहरू बर्सेनि साइकलमा हुइँकिन यहाँ आउँछन् । सन्दकपुर, मानेभञ्ज्याङ, तुम्लिङ, कालपोखरी, गोर्खे, फालोट र रिम्बिकका तीन हजार मिटरभन्दा उचाईका पहाडमा म्याराथुनसमेत आयोजना गर्ने गरिएको छ । यहाँको साइकल यात्रा र म्याराथुनमा रमाउन बेलायत, अष्ट्रेलिया, भारत, जापान, अफ्रिका, कोरिया, अमेरिका, जर्मनीलगायत देशबाट पर्यटक आउनेगरेको स्थानीय व्यवसायी बताउँछन् ।