धरान /  धरानमा दीर्घकालीन खानेपानी आयोजना  सम्पन्न भएर बोर्डमा आइसक्दा पनि धरानमा खानेपानी अभावको समस्या जस्ताको तस्तै रहेको छ ।

०७९ को स्थानीय निर्वाचनपछि खानेपानीको मुख्य एजेन्डा बोकेर आएका स्वतन्त्र उमेद्वार हर्क साम्पाङ निर्वाचित भएसँगै खानेपानी समस्या समाधानमा दिनरात खटिए पनि दीर्घकालीन खानेपानी समस्या समाधानभन्दा पनि अल्पकालीन योजना अगाडि बढाउँदा अहिले पनि धरानमा खानेपानीको समस्या चुलिएको हो ।

शुक्रबार धरान ३ मेरीगोल्ड स्कुल छेउमा खानेपानी थाप्न लाइनमा रहेका सर्वसाधारणले तीन दिनदेखि खानेपानी धारामा नआएको बताए थिए । यस्तै धरान १५ मा ११ दिनदेखि खानेपानी नआएको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणले मेयरलाई सम्बोधन गर्दै जानकारी गराएका छन् । धरान १५का जीवन लिम्बुले ११ दिनदेखि धारामा पानी नआएको बताए । उनले भने–‘चैत्र महिनादेखि नै धरान १५ मा खानेपानीको समस्या थियो, तर वैसाख लागेपछि त खानेपानी धारामा चुहिनसम्म छाड्यो । 

यस्तै भनाई धरान १५ की टिका बस्नेतको रहेको छ । विगतमा पुष महिनादेखि नै खानेपानी समस्या हुने गरेपनि यस बर्ष भने चैत्रदेखि खानेपानी समस्या हुन थालेको बताइन् । 

उनले भनिन्–‘एक हप्ता भन्दा बढी भयो, धारामा पानी आउँदैन, पिउन, खाना पकाउन तथा शौचालयमा प्रयोग गर्न पनि पानी हुँदैन ।’

यी त उदाहरणमात्र हुन् अहिले धरानका अधिकांश स्थानमा खानेपानीको समस्या चुलिन थालेको छ । खानेपानीको समस्या  हुन थालेपछि अहिले धरान खानेपानी बोर्डको ट्यांकरले अभाव हुने स्थानमा खानेपानी आपूर्ति गर्दै आएको छ । सर्वसाधारणले साम्पाङले खानेपानी समस्या समाधानमा धेरै श्रम खर्च गरे पनि अल्पकालीन योजनामात्र अगाडि सारेका कारण पूर्ण रुपमा समाधान हुन नसकेको सर्वसाधारण बताउँछन् । 

बर्षेनी धरानमा खानेपानीको हाहाकार भएपछि सहरी विकास आयोजना अन्तर्गत एसियाली बैंकबाट ५० प्रतिशत अनुदान, नगर विकास कोषबाट ३५ प्रतिशत ऋण तथा धरान उपमहानगरपालिकाबाट १५ प्रतिशत लगानीमा खानेपानी परियाजना शुरु गरिएको थियो । करिब २ अर्ब १६ करोड लगानीमा सम्पन्न  गरिएको भनिएको खानेपानी परियाजनाले खानेपानी समस्या समाधान गर्न नसक्दा यो अवस्था आएको स्थानीयहरुको भनाई छ । 

विगतमा नेपाल खानेपानी संस्थानले धरान जनतालाई खानेपानी वितरण गर्दा भन्दा अहिले बोर्डले केही सहज रुपमा पानी आपूर्ति गरेको भएपनि पर्याप्त भने हुन नसकेको सर्वसाधारणको भनाई छ ।

एकीकृत सहरी विकास आयोजना ०७१ मा सम्झौता भएर ०७२ अषाढ ३० गतेदेखिदेखि शुरु भएको आयोजना ०७४ आषाढ २३ गते सक्ने सम्झौता भएपनि परियोजनाको म्याद पटक पटक थपिएको थियो  । 

हुन त साम्पाङले दीर्घकालीन खानेपानी समस्या समाधान गर्न साप्तकोशीबाट पानी ल्याउनका लागि संघीय सरकारलाई बजेट समेत माग गर्दै आएका छन् । केही समय अगाडि मेयर साम्पाङ र उपमेयर अइन्द्र बेघाको टोली काठमाण्डौ पुगेर सम्बन्धित मन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएका छन् । अहिले उनले कोकाबाट पानी ल्याउने अभियानलाई अगाडि बढाएका छन् ।

कोकाबाट पानी ल्याउने अभियानमा उनलाई आर्थिक सहयोग समेत जुट्न थालको छ । महत्वपूर्ण खानेपानी एजेन्डा बोकेर धरान उपमहानगरपालिकाको मेयरमा  निर्वाचित साम्पाङलाई दीर्घकालीन खानेपानीको समस्या समधान गर्न चुनौति थपिएको छ ।