धरान । सीमा विवाद र असहमतिले चर्चा पाएको धरान खानेपानीको कोका श्रमदान महाअभियानमा सहमतिको प्रयास सकारात्मक ढंगबाट अगाडि बढेको छ ।
वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच छलफलमा दुवै पक्षबाट आ आफ्नो कुरा अगाडि राखेका थिए ।
सो अवसरमा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि कोकाबाट पानी ल्याउनका लागि संस्थागत निर्णय, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन र धरानलाई सशुल्क पानी वितरण गर्न लागिएको हो भने बराहक्षेत्रलाई निश्चित कर दिनुपर्ने ग्यारेन्टीसहितको लिखित सहमति गर्नुपर्ने कुरा अगाडि सारेका थिए ।
मेयर कार्कीले सारेका कुरालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिकाको तर्फबाट सबै माग लिखित रुपमै हुर्ने प्रतिबद्धता जनाएका थिए ।
छलफल शनिवार जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको रोहवरमा दुई पालिकाका प्रमुख बीच भएको थियो । छलफलले तीन दिन भित्र दुई पालिका बिच लिखित सम्झौता गर्ने र त्यसपछि मात्र वराहक्षेत्रको भू–भागमा खानेपानीको पाइप बिछ्याउने काम गर्ने सहमति भएको थियोे ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ ओम भट्टराई, धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघा, वराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला, वराहक्षेत्रका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको रहेको थियो ।