इलाम / ‘जग्गाको तिरो नेपाल सरकारले लिन्छ तर हामीले त्यो जमिन प्रयोग गर्न नपाएको पीडा चाहिँ बुझ्दैन, ‘हामीले हाम्रो जमिन कहिले खनजोत गर्न, त्यहाँ घर बनाउन पाउने ? हामीलाई हाम्रो सरकारले हेर्नुपर्दैन ? सीमामा बस्ने नेपाली चाहि नेपालका होईनन ?’ इलामको सुर्योदय नगरपालिका २ हिलेका धनबहादुर राईले सरकारले सीमा समस्याको स्थायी समाधान नखोजिदिँदा सँधै पिडामा परेको बताए ।
नेपालमा परेको आफ्नो जग्गा रातरात भारतको भएपनि उनीहरु पीडिामा परेका हुन् ।स्थानीय ज्येष्ठ नागरिक डिपबहादुर तामाङको दशगजा भन्दा बाहिरको भोगचलन गरिरहेको जमिन अहिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दशगजा र भारतको भन्न थालेको दुखेसो पोख । उनले प्रश्न गरे, ‘पहिला नेपालमा परेको जग्ग्गा अहिले कसरी भारतमा प¥यो ? सीमा चाहिँ बर्सेनी कसरी वरसम्म सर्छ ? भन्ने बुझ्न सकिएन ।’ उनले बर्सेनी घर जग्गाको कर नेपाल सरकारलाई तिर्ने गरे पनि जमिन प्रयोग गर्न नपाएको बताए । उनले भने–‘भारतले नेपालतर्फको सीमा मिच्दै आए पनि नेपाल सरकारलाई वास्तै छैन ।’
हिलेकै कमला सुब्बा शेर्पाले तिरो तिरिरहेको जमिनमा गत बर्ष खानेपानीको ट्यांकी बनाउन खोजिन् । तर, एसएसबी आएर रोकिदियो । उनले अहिलेसम्म न घर बनाउन पाएकी छिन्, न पानीको ट्यांकी नै । उनी भन्छिन, ‘जग्गाको तिरो आफूले तिरिएको छ, दशगजा भन्दै निकै वरसम्म आएर एसएसबीले सीमा स्तम्भ गाड्न खोज्छ, आफ्नै जमिनमा आएर एसएसबीले अधिकार जमाउन खोज्दै सँधै दुः ख दिइरहन्छ ।’
स्थानीय लोकबहादुर कार्कीले वर्षाैंदेखि भोग चलन गरेको र कर तिरेको जग्गामा घाँस दाउरा गर्न डराउँदै डराउँदै जाने गर्छन । एसएसबीले आफ्नै जग्गामा घाँस दाउरा गर्न जाँदा धम्क्याउने गरेको उनी सुनाउँछन् । सीमाको दशगजाबाहिर वर्षाैंदेखि तरकारी र अन्न खेती गरिरहेका कार्कीले खेतीगर्न नभ्याएपछि ३ रोपनी जग्गामा बिरुवा रोपेका थिए । आफूले रोपेका बिरुवा बढेर जंगल बनेपछि उनी आफ्नै जंगलमा घाँस–दाउरा गर्दे थिए । तर, केही महिनाअघि एसएसबी को एक टोलीले उनलाई त्यहाँ घाँस नकाट्न भन्दै धम्क्याएपछि उनी अहिले आफ्नो बारीमा जाँन पनि डराउँदै जाने गरेको बताउँछन ।
उनी भन्छन, एसएसबीले धम्क्याएपछि वर्षाैंदेखि आफूले प्रयोग गरिरहेको जमिनमा घाँस काट्न किन नपाउने भनेर प्रश्न गरे, त्यसपछि झन एसएसबीले थर्कायो, हप्कायो र त्यो ठाउँ दशगजा भएको भन्दै ‘आइन्दा यहाँ नछिर्न’ चेतावनी दियो ।’ कार्की भन्छन् ‘वर्षाैंदेखि मैले भोगचलन गरेको, तिरो तिरेको जग्गा मेरै होइन भन्दा कन्पारो तातेर आयो , घाँस काट्न जाँदा हातमा बोकेको सिक्कल उज्याएर लु मलाई केही गर् त भनेर जाइलागेपछि मात्रै एसएसबी पछि हट्यो ।’
उनीहरु मात्र होईन मात्र होइन, नेपाल भारत सिमा क्षेत्रका बासिन्दा वर्षाैंयता उपभोग गरिरहेको र आफैंले तिरो तिरेको जमिनमा भोगचलन गनसमेत एसएसविसँग डराउनुपर्ने गुनासो गर्छन । दशगजाका नाममा दशगजा बाहिर पर्ने २०–५० मिटरसम्मको जमिनसमेत एसएसबीले स्तम्भ सार्दै दशगजा दाबी गर्दे दुःख दिने गरेको हो । सोही ठाउँका विमल दाहालले सरकारले सर्वसाधारणबाट कर लिने तर भोगचलनको वातावरण चाहिँ नबनाइदिने भन्दै तिरो तिर्नेहरूलाई नै जमिन उपभोग गर्नेे वातावरण मिलाईदिन सरकार सँग आग्रह गरे ।
सुर्योदय नगरपालिका २ का वडा सदस्य गणेशकुमार खड्का (नकुल) ले स्थानीयले आफ्नै जमिन भोगचलन गर्न नपाउनु निकै पीडादायक अवस्था रहेको बताए । ‘हामीले कर नउठाउन पनि मिल्दैन, स्थानीयलाई जमिन उपभोग गर्ने वातावरण बनाउन पनि जटिल छ,’ उनी भन्छन, ‘स्थानीय सरकारले सीमाको समस्या संघीय सरकार समक्ष राखेको छ, सीमा समस्याको दिगो समाधान नभए सँधै सिमाना मिच्ने कामको अन्त्य नहुने देखिन्छ ।’
नेपाल–भारत सिमानामा पर्ने सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरमा खुला सीमाका कारण समस्या आउने गरेको छ । दशगजामा भौतिक संरचना निर्माण त छँदैछन्, नेपालीले कर तिरिरहेको दशगजा भन्दा भित्रको जमिनसमेत प्रयोग गर्न एसएसबीले बेला–बेला बाधा गरिरहेको छ । प्रायः एसएसबी क्याम्पसमा नयाँ कमान्डर आएपछि उनीहरूले दशगजा अवलोकनको बहानामा नेपालपट्टि सीमा मिच्न खोज्ने गरेको स्थानीय बताउँछन् ।




















