धरान / कोशी प्रदेशकै पर्यटकी स्थलको रुपमा परिचित बन्दै गएको धनकुटाको सागुरीगढी गाउँपालिका भेडेटारमा गर्मी बढेसँगै सर्वसाधारणको चहलपहल बढ्ने गरेको छ । तराईमा अत्याधिक गर्मी हुदा भेडेटार सधै चीसो हुने भएकोले प्राकृतिक मनोरम दृश्य सँगै शितलताका लागि तराईबाट भेडेटार उकालो चढ्नेको संंख्या बढ्ने गरेको हो ।

तर कोरोना सक्रमणपछि भने भेडेटार पुग्नेको संख्यामा कमी आएको भेडेटारका पर्यटन व्यवसायीहरु बताउँछन् ।

तराईका जिल्लाहरुमा अहिले गर्मी अचाक्ली छ । गर्मीले उकुसमुकुस भएको बेला शितलता प्रदान गर्ने रमणीय स्थलको रुपमा सर्वसाधारणले भेडेटारलाई रोज्ने गरेका छन् । एक छिन भए पनि उद्युम गर्मी छल्न र भेडेटारको रमणीय स्थल दृश्यावोकन गर्न पुग्नुभएका इनरुवाका कुमार न्यौपानेले छिनछिनमा मौसम परिवर्तत हुने भेडेटारको विशेषताले भेडेटारको आकर्षणमा थप सहयोग पु¥याएको बताए ।

छिनमा हुस्सु लाग्ने, छिनमा घाम लाग्ने, शितल महसुस हुने भेडेटार रमणीय स्थल भएको गौतमको भनाई छ । तर भेडेटारदेखि राजारानीसम्म पुग्ने सडक जीर्ण रहेकोले यो सडक खण्ड निर्माण नहुदा पर्यटकले सास्ती भोग्नुपरेको उनको भनाई छ ।

न्यौपानेले मात्र हैन तराईमा धेरै गर्मी भएर गर्मी छल्न भेडेटार पुगेकाहरुले छनछिनमा मौसम परिवर्तन हुने विशेषताले भेडेटारको सौन्दर्यता थपिदिएको बताउने गरेका छन् । छिनछिनमा बादल लाग्ने, छिनछिनमा घाम लाग्ने, चिसो हावा चल्ने भेडेटार पूर्वकै सुन्दर पर्यटकीय स्थलको रुपमा रहेका उनीहरुले बताएका छन् । विराटनगरबाट भेडेटार गर्मी छल्नकै लागि पुगेका सविता केसी र सविना घिमिरेले भेडेटार आएपछि विराटनगर फर्किनै मन नलाग्ने बताए ।

गर्मीको मौसममा गर्मी छल्न भेडेटार पुग्नेहरु आन्तरिक पर्यटकमात्र हुदैनन् । यहाँ भारतको पश्चिम बंगालका सर्वसाधारणहरु समेत पुग्ने गरेका छन् । तर कोरोना संक्रमणपछि भने आन्तरिक तथा वाह्य पर्यटक अत्यन्तै कम आउने होटल एसोसिएसन भेडेटारका कोषाध्यक्ष रमेश श्रेष्ठ बताछन् । सक्रमणपछि आथिक संकट भएकोले पनि विगतका बर्षहरुभन्दा कम पर्यटक पुग्ने गरेको उनको भनाई छ ।

भेडेटार आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक गन्तव्य स्थल बनेको छ । यहाँको चिसो हावापानीमात्र हैन आसपासमा भएका पर्यटकीय क्षेत्रले गर्दा पनि पर्यटक तान्ने गरेको हो । नमस्ते झरना, भुत बस्ने घर, चाल्स पइन्छ, ध्वजे डाँडा, राजारानी ताल लगायतका आकर्षक गन्तव्य स्थलका कारण पनि भेडेटारमा पूर्वबाट मात्र हैन भारतको पश्चिम बंगालका पर्यटक आउने गरेका छन् ।

विगतमा विदाका समयमा हजारौ सर्वसाधारण भेडेटार पुग्ने गरे पनि कोरोना संक्रमण पछि भने कम पर्यटक आउने एसोसिएसनले जनाएको छ । विगतको तुलनामा कम आए पनि पुन ः पर्यटक बढ्ने आशामा यहाँका पर्यटन व्यवसायीहरु आशावादी छन् ।