धरान /  चरम लापारबाहीका कारण ठेकेदार कम्पनीहरुले निर्माणको जिम्मा लिएको भौतिक संरचनाहरु समयमै काम पूरा नगरी बीचैमा छोडेर जाने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको पाइएको छ ।

ठेक्का लिने तर काम नगरी बीचैमा अलपत्र पारेर हिड्ने प्रवृत्तिले समयमै कामले पूर्णता नपाउनु त छँदैछ, निर्माणका लागि राखिएका सामाग्री हराउने, चोरी हुने समेत हुने गरेको छ ।

यस्तै भएको धरान ५ देवी गाउँ रहेको जरेआहाल र मुक्तिला जोड्ने मसाने खोलाको निर्माणाधीन पुल काम नसकी ठेकेदार कम्पनी फरार भएपछि अहिले काम ठप्प भएको छ ।

१० प्रतिशत पनि काम नगरी झापाका ठेकेदार पशुपति बरालले बीचैमा छोडेर अलपत्र पारेपछि अहिले यस भेगका सर्वसाधारणलाई आवातजावत तथा कृषि सामाग्री बजारसम्म ल्याएर विक्री गर्न पनि कठिन भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा ०७४ सालकै जननिर्वाचित प्रतिनिधिले शुरुवात गरेको पुल अहिले अलपत्र अवस्थामा रहेको धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बु बताउछन् ।

निर्माणको काम नहुदा त्यहा रहेका गिटी, बालुवा, निर्माणका लागि प्रयोग हुने सेटिङ काठ, सिमेन्ट बगाएर लगेको बताए । यो एउटा पुलमात्र हैन धरान ५ कै तल्लो देउराली र खैरेनी जोड्ने पुलको हालत पनि उस्तै छ । ६ बर्ष अगाडि निर्माण शुरु भएको सो पुल समयमै निर्माण नभएपछि सडक डिभिजन कार्यालयमा गएर ठेकेदार कम्पनीसँग निर्माणका लागि कागज गरिएको वडाध्यक्ष लिम्बु बताउछन् ।

कागजमा ठकेदार कम्पनीले ०७९ को असार मसान्तभित्र सक्ने सम्झौता गरेको  भएपनि अहिले काममा ढिलासुस्ती हुदा सामान्य रुपमा आउजाउ गर्न सकिए पनि पूर्ण रुपमा निर्माण सम्पन्न हुन नसकेको उनको भनाई छ ।

बीचैमा काम छोडेर काम नै ललालिंग बनाउने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन नसक्दा निर्माण भएका भौतिक संरचना अर्धकल्चो अवस्थामा छोडेर ठेकेदार फरार हुने गरेको स्थानीयको भनाई छ ।

प्रदेश र केन्द्रको आयोजनामा बनेका मसाने खोला र अँधेरी खोलामा बनेका यी पुल ठेकेदार कम्पनीका लापारबाहीका कारण बन्न नसकेको धरान उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठ बताछन् ।

लापारबाहीका कारण ठेकेदार कम्पनीले काम छोडेर बीचैमा अलपत्र पार्ने प्रवृत्तिप्रति उपमहानगरपालिका गम्भीर भएको बताउदै सम्बन्धि पक्षसँग समन्वय गरेर ठेकेदार कम्पनीलाई सचेत गराएको बताए । उनले हामीले ठेकेदार कम्पनीलाई जानकारी गराइसकेको बताउदै अटेर गरेको खण्डमा कारबाहीका लागि प्रक्रिया बढाउने बताए ।

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले केही समय अगाडि अलपत्र परेका पुलको अनुगमन गरेको बताए । उनले ठेकेदारलाई फोन सम्पर्क  गर्दा फोन नउठाउने गरेका बताए । पुल अलपत्र पारेर हदैसम्मको लापाही गर्ने ठेकेदार कमपनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने बाहेक अर्को विकल्प नभएको बताए ।

सम्बन्धित निकायले यस्ता ठेकेदार कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि नबढाउने, कालो सूचिमा नराख्ने गरेकोले पनि ठेकेदारले ठेक्का लिने बीचैमा छोड्ने प्रवृत्ति बढेको हो । सम्बन्धित निकाय कडा रुपमा प्रस्तुत भएर कारबाहीको दायरामा ल्याउने हो भने यस्ता प्रवृत्तिको अन्त्य हुने निश्चित छ ।