विराटनगर /  नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले विराटनगरमा प्रदशर्न गरेकोछ ।

उक्त पार्टीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा  गृहमन्त्रीलाई खुट्टा नकमाउन भनिएको छ । विरोध प्रदर्शनपछि विराटनगरको बुधहाटचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले अहिलेसम्म गरिएको प्रहरी अनुसन्धान र कारवाही सन्तोषजनक भएकाले जनता साथमा छन् भन्नका खातिर पनि सडकमा आएको बताए । उनीहरूले सरकारले भ्रष्टाचारविरुद्ध सशक्त कदम चालेको भन्दै प्रशंसा पनि व्यक्त गरे ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले नक्कली भुटानी शरणार्थी काण्ड विश्वका सामु शीर निहुराउने खालको एउटा लज्जास्पद घटना भएको बताए ।

उनले यो घटनामा संलग्न व्यक्ति जतिसुकै ठूलो ओहोदाको भए पनि कारवाही गर्नुपर्नेमा जोड दिए । कोणसभालाई उक्त पार्टीका केन्द्रीय सदस्य तथा महानगर कमिटी इञ्चार्ज सेवन्तराज भण्डारी, महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, जिल्ला कमिटी सहसचिव निलम ढुंगेल, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेलगायतले सम्बोधन गरेका थिए ।