बिराटनगर/  मोरङको सुन्दरहरैचा नगरपालिका-९ गोठगाउँमा रहेको कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रशिक्षार्थी प्रहरी ब्यारेक भवनको शिलान्यास गरिएको छ । बुधबार कोशी प्रदेश प्रहरी  प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षार्थी ब्यारेक भवनको शिलान्यास गरेका हुन् ।

नेपाल सरकारको १६ करोड ८० लाख ४३ हजार ९ सय ६० रुपैया ४३ पैसाको नियमित बजेटबाट निर्माण हुन लागेको ब्यारेक भवनमा ३ सय जना प्रशिक्षार्थी अट्ने गरी ३ तलाको भवन बन्ने छ 

भवन शिलान्यास कार्यक्रममा बास्तोलाले ब्यारेक भवनको शिलान्यासले प्रशिक्षण वातावरणमा थप उर्जा मिल्ने र तालिमरत प्रशिक्षार्थीहरुको तालिम प्रतिको मनोवल उच्च हुनुका साथै प्रशिक्षणमा प्रभावकारितामा आउने बिश्वास ब्यक्त गरे ।

तालिम केन्द्र नमुना हुनु जरुरी रहेको बताउदै तालिम केन्दको भौतिक संरचनाहरुलाई सुविधा सम्पन्न बनाई उत्पादित प्रहरी कर्मचारीहरुलाई थप चुस्तदुरुस्त बनाउन नयाँ ब्यारेक भवनको शिलान्यासले प्रहरी कर्मचारीहरुमा उर्जा मिल्ने बताए । 

 भवन शिलान्यास कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका निमित्त प्रमुख प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, राजमार्ग सुरक्षा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, प्रदेश प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सुनसरीका प्रहरी प्रमुखहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।