विराटनगर /  विराटनगर महानगरपालिकाले १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व संकलनलाई प्रविधिमैत्री बनाउन लागेको छ ।

मेयर नागेश कोइरालाले सेवाग्राहीहरु घरमै बसेर सिफारिस लिन सक्ने वातावरण बनाउन लागेको बताए । 

उनले जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने सुशासन कायम गर्ने उद्देश्यले सबै सेवालाई प्रविधिमैत्री बनाउन लागिएको जानकारी दिए । 

१९ वटै वडाका सचिवका लागि महानगरले एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । 

तालिममा मेयर कोइरालाले भने, ‘कुनै पनि काम लिएर भरिसक वडा कार्यालय सेवाग्राहीहरु पुग्न नपरोस् भनेर हामीले सेवालाई प्रविधिमैत्री बनाउन लागेका छौं,

केही वडामा ई–सिफारिस कार्यान्वयनमा आइसकेको छ । अब सबै वडामा छिट्टै कार्यान्वयनमा ल्याउनेछौं ।” 

जनताले महसुस गर्ने गरी सेवालाई प्रविधिमैत्री बनाउन पनि उनले निर्देशन दिए । 

उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्षबाट विद्युतीय सुशासन कार्यान्वयन सुरु भएको र आगामी आर्थिक वर्षदेखि पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाईन । 

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सेवालाई प्रविधिमैत्री बनाउन सकिए जनतालाई सास्ती नहुने र कार्यालयमा समेत भीडभाड नहुने बताए ।

 महानगरले वडा तहका सिफारिस मात्रै नभएर महानगरका सबै शाखा र महाशाखाका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिए ।