मोरङ/ सशस्त्र प्रहरी बल कंकालिनी गण हेटक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद प्रतिकार्य अभ्यास कार्यक्रम विराटनगरमा आयोजना गरिएको छ ।

विद्यालय तहदेखि नै विपद रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउनलागि तालिमको आयोजना गरिएको बताइएको छ ।

तालिमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै विपदका विषयमा जानकारी दिनुपर्नेमा जोड दिए ।

मेयर कोइरालाले असावधानीका कारण हरेक वर्ष बाढीपहिरोमा ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यस्ता तालिम विपद व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए ।

 कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले वर्षाको माौसम सुरु हुन लागेकाले बाढी र डुबानको जोखिमबाट बच्न तयारी अवस्थामा बस्न यस्ता तालिमले सहयोग पुग्ने बताए ।

 उनले गाउँपालिकाले विपद व्यवस्थापनका लागि विभिन्न योजना अघि सारेको सुनाए । मोरङका प्रमुख जिल्ला अधिकारीले मोरङ विपदका हिसाबले उच्च जोखिममा रहेको जिल्ला भएको जानकारी दिएका थिए । 

सशस्त्र प्रहरकिो कंगालिनी बहारा बाहिनीका प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेलले डुबान र बाढीमा फसेकाहरुलाई उद्धारका लागि सशस्त्र प्रहरीसित दक्ष जनशक्ति रहेको जानकारी दिए । 

उनले अहिले सशस्त्र प्रहरीसित ५५ जना गोताखोर रहेको बताए । निकट भविष्यमा एक सय जना गोताखोरको संख्या बनाएर हरेक प्रदेशमा १० जना राख्ने व्यवस्था मिलाउने उनको भनाइ थियो ।

 कंगालिनी गणका प्रमुख एसपी तीर्थकुमार थापाले  सशस्त्र प्रहरीले विगतदेखि नै विपदका बेला राहत र उद्धारमा खटिँदै आएको बताएका थिए ।