झापा । अपहरणको भ्रम फैलाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 अपहरणमा परेको भ्रम फैलाएको भन्दै बुद्धशान्ति गाउँपालिका–४ का ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

संघीय लोकतान्त्रिक मञ्च संघीय लिम्बुवान मञ्चका भोलिन्यिर्स (एलभी) कमान्डर रहेका  सुहाङ बेपत्ता भएपछि उनलाई अपहरण गरेर बेपत्ता बनाएको  भन्दै आफन्त र मञ्चले इलाका प्रहरी कार्यालय धुलाबारी झापामा खोजतलासका लागि निवेदन दर्ता नै गरेका थिए ।

निवेदन परे लगत्तै प्रहरीले खोजी कार्यलाई तिब्रता दिएको थियो । 

वैशाख ३१ गते अपहरणमा परेको दाबी गर्दै परिवार तथा मञ्चल सकुशल रिहा गरी दोषीको खोजी गरी कारबाही गर्न माग गरेका थिए । 

प्रहरीले खोजतालाका क्रममो तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय झापाको टोली कुकुरसहित  खोज तलासका लागि निस्किएको थियो । 

खोजतलासकै क्रममा सुहाङलाई इलामको रोङ गाउँपालिका–४ स्थित बिरिङ खोलाको पुलमुनी लुकेर बसिरहेको अवस्थामा बुधबार फेला पारेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।

अपहरणमा परेको नाटक गर्ने क्रममा सुहाङले बुद्धशान्ति वडा नं ७ को पैनीबगर भन्ने स्थानमा आफूले लगाएको घडी र लुगासमेत फ्याकेको प्रहरीले फेला पारेको छ । 

नेविसंघका कार्यकर्तासँग विवाद परेका कारण अपहरण गरिएको भन्ने भ्रम सिर्जना गर्न सुहाङले साथी ३९ वर्षीय फुलबहादुर गौतम दर्जीसँग मिलेमतो गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले दर्जीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ