सुनसरी / एभरेष्ट बैंक इटहरीका शाखा प्रबन्धकसहित नौ जनालाइ चोरी आरोपमा प्रहरिले पक्राउ परेका छ ।
बचतकर्ताले बैंकमा राखेको डेढ करोड रुपैयाँ चोरी गरेको अभियोगमा प्रबन्धक विश्वराज शाक्यसहित नौ जनालाई बचतकर्ताको १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी गरेको अभियोगमा पक्राउ गरिएको हो।
सर्वसाधारणको खाताबाटै रकम चोरी भएपछि प्रबन्धकको मिलेमतो हुनसक्ने देखिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए।
३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे ८ घर भएका ४२ वर्षीय शाक्यसहित ९ जनालाई पक्राउ गरेको हो। उनीहरूमध्ये सात जना बैंकका कर्मचारी हुन्।
पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो। यस अवधिमा ५९ पटक कनेक्ट आइपिएसमार्फत सो रकम निकालेको देखिएको प्रहरीले जनाएको छ।
आरोपमा प्रहरीले बैंकका उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो।
त्यस्तै धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन्।
इटहरी शाखामा कार्यरत प्रधानको गत मार्चमा गाइघाट सरुवा भएको थियो। उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आइपिएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ। त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ।