काठमाडौं / राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले सातामा दुई दिन अष्ट्रेलिया– काठमाडौं–अष्ट्रेलिया उडान गर्ने भएको छ। लामो पहलपछि नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय[स्लट] पाएसँगै उडान हुने निश्चित भएको हो।

सिड्नी विमानस्थलले निगमलाई सातामा २ उडानका लागि अनुमति र स्लट दिएको नेपाल वायुसेवा निगमका प्रवक्ता गणेश घिमिरेले सेतोपाटीसँग बताएको खबर सेतपाटीले प्रकाशित गरेको छ। 

किङ्सफर्ड स्मिथ अन्तर्राष्ट्रिय विमानस्थलले बिहिबार र शनिबारका लागि आफूहरूलाई स्लट दिएको उनले बताए।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै अब निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग आफूहरूले उडान अनुमति प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

‘यसका लागि निगमले सबै विवरण अष्ट्रेलियन नागरिक उड्ययन प्राधिकरणमा बुझाइसकेको छ, हामीले छलफललाई तिब्र रूपमा अगाडि बढाएका छौ’, उनले भने, ’निगमले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान भर्न लागेको भएकाले सिंगापुरको नागरिक उड्यायन प्राधिकरणसँग पनि कुरा भइरहेको छ।’

उनले आगामी दुई महिनाभित्रै उडान भर्ने तयारी रहेको जानकारी दिए।

निगमसँग भएको एयरबस ३३० जहाजले सिधा अष्ट्रेलिया उड्न नसक्ने भएकाले सिंगापुरमा तेल भरेर उडान गर्ने प्रस्ताव पेस गरेको थियो।