काठमाडौं / पशुपतिको जलहरीबारे स्पष्ट कुरा सरकारले सदनलाई जानकारी नगराए आज पनि संसद चल्न नदिने एमाले संसदीय दलका  प्रमुख सचेतक पदम गिरीले बताएका छन् ।

जलहरीमा  अनियमितता भएको छ भने  त्यसको अनुसन्धान गरेर  कारबाहीमा ल्याउने  सन्दर्भमा सरकारले चालेको कदमबारे पनि संसदलाई जानकारी दिनुपर्ने उनले बताए।

'प्रमुख प्रतिपक्षी दलको नेतालाई इंगित गरेर सत्तापक्षका सांसदले निराधार, कपोकल्पित र तथ्यहीन र पूर्वाग्रही ढंगले आरोप लगाउने काम भएको उनले बताए । उनले भने, `त्यसमा गल्ती स्वीकारेर सत्तापक्षले माफी माग्न पर्‍यो होइन भने प्रमाणित गर्नुपर्छ। त्यो कुरामा सरकार जुन ढगले आउँछ, आजको संसद त्यही अनुसारले चल्छ।'

एमाले  बजेट ढिला हुनुहुन्न भन्ने पक्षमा नै रहेको तर पशुपतिको जलहरी सुन हो कि पित्तल पहिले टुंगो लगाउनुपर्ने उनको भनाइ छ।

शुक्रबार एमालेको अवरोधपछि २० मिनेटका लागि बैठक स्थगित गरेर छलफल गरिएको थियो। तर, अबेरसम्म पनि सहमति जुट्न नसकेपछि बैठक आजका लागि सारिएको थियो।

पशुपतिको जलहरीबारे माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले  संसदीय दलका नेता केपी ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै एमालेले त्यसको जवाफ माग्दै संसद अवरुद्ध पारेको थियो।