धरान / कोसीको पानी ल्याउनको लागी समन्वय गर्न मेयर हर्कराज राइको संयोजकत्वमा ५ सदस्यीय समिती बनेको छ । 

उपमहानगरको आज बसेको बैठकमा संघीय सरकारले एकीकृत खानेपानी तथा ढल ब्यवस्थापन कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने भए पछि मेयर राइले बराहक्षेत्रसंग समन्वय गर्ने निर्णय गर्ने प्रस्ताब गरेका थिए । बैठकमा कार्यपालिका सदस्यहरुले बजेटको श्रोत सुनिश्चित नभैसकेकाले अहिले नै निर्णय गर्न नहुने बताएका थिए ।

समितिले समन्वय गरे पछि पुनः कार्यपालिकाको छलफल गरिने भएको छ । समितिमा वडा नम्बर ११,१३,१४ र १८ का अध्यक्षहरु रहेका छन् । बैठकमा धरान र इटहरीको सिमा बिबाद समाधान गर्ने जिल्ला समन्वय समितीलाई पत्राचार गर्ने निर्णय भएको छ । 

बैठकमा मेयर राइले नगरको बजेट बढाउन धरानमा रहेको ६० हजार घरधुरीलाई करको दायरामा ल्याउनु पर्ने बताए ।

अहिले सम्म १७ हजारले मात्रै कर तिर्ने गरेकाले सबै जनप्रतिनिधिहरुको भुमिका रहनु पर्ने बताए । उपमहानगरपालिकाले चाहे जति कर संकलन गर्न नसक्दा धरानको विकास हुन नसकेको मेयरले जिकिर गरे ।