झापा /  वनले दिएको आदेशलाई अटेरी गरी उपभोक्तालाई विक्री गरेको आरोपमा उपभोक्ता समितिका तीन पदाधिकारी पक्राउ परेका छन् ।

जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा झापाको शिवसताक्षी–१० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहका तीनजना पदाधिकारी पक्राउ परेका छन् । सव डिभिजन कार्यालय चुलाचुली इलामबाट खटिएको टोलीले गैडे सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष राम लावती, सचिव कुमारी फागो योङया र कोषाध्यक्ष रविन न्यौपानेलाई  पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय चुलाचुली इलाममा अनुसन्धानका लागि राखिएको कार्यालय प्रमुख सत्यराम प्रजापतिले बताए । जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए ।

उनले भने–‘वन कार्यालयले छप्पान आदेश दिनुपर्ने, त्यसपछि टुनटुना, चिरान आदेश दिनुपर्ने र यी सबै प्रकृया पूरा गरेपछि बिक्री आदेश र छुटपुर्जी वन कार्यालयबाट लिनुपर्ने हुन्छ, गैडे सामुदायिक वन उपभोक्ता समूहका तीनजना पदाधिकारीले भने बिक्री र छुटपुर्जी आदेश नलिई काठ बिक्री गरेको पाइएकाले छ, अनुसन्धानका लागि हामीले उनीहरुलाई नियन्त्रणमा लिएका छौ ।’

पक्राउ परेका पदाधिकारीसँगै वन कार्यालयको टोलीले को १ च ७५०५ नम्बरको बोलेरो जिप र २६ं/६२ क्युफिट चिरान काठ पनि बरामद गरेको प्रमुख प्रजापतिले बताए ।

उनले भने–‘ वन कार्यालय साखु जातको रुख कटानको आदेश दिएको तर बरामद गरको काठ साखुजस्तो नदेखिएकोले अनुसन्धानका लागि नियन्त्रामा लिइएको उनले बताए ।