विराटनगर/  रंगेली नगरपालिका ९ स्थित दोहमना बजारमा निर्माण भएको सुविधा सम्पन्न पशुपंक्षी बजारको उद्घाटन गरि नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

 कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगर्तको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशुपंक्षी बजारको शनिबार उद्घाटन गरि रंगेली नगरपालिकालाई हस्तान्तरण गरिएको हो । पशुपंक्षी बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री डा। बेदुराम भुषालले उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री भुषालले देशभरका १ सय ६१ वटा गाउँ तथा नगरपालिकामा पशु स्वास्थ्य प्रयोगशाला राख्ने सरकारले योजना बनाएको जानकारी दिए । उनले बजारलाई पशु स्वास्थ्य केन्द्र आवश्यक देखिएकाले मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले बजारमा बिक्रिवितरण गर्नका लागि ल्याइने पशुपंक्षी स्वस्थ भए नभएको भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै त्यसका लागि आवश्यक संरचना निर्माण गर्न मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने समेत बताए । उनले रंगेलीमा कृषि बजार समेत निर्माण भइरहेको र त्यसका लागि थप बजेट समेत विनियोजन गरिएकाले स्थानीयवासी भाग्यमानी रहेको बताए । 

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले दोहमनाको पशुपंक्षी बजार नगरपालिकाको प्रस्तावमा निर्माण भएको जानकारी दिए ।

उनले रंगेली बजारस्थित कृषि बजार निर्माणका लागि पनि मन्त्रालयले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आगामी आर्थिक वर्षमा कृषि बजारका लागि बजेट विनियोजन भइसकेकाले चाँडै निर्माण सम्पन्न गर्नका लागि मन्त्रालयबाट आवश्यक सहयोग गरिदिनसमेत आग्रह गरे । 

कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा। उमेश दाहालले स्वस्थ पशुपंक्षी विक्रिवितरणका लागि बजार निकै महत्वपूर्ण र उपयोगी रहेको बताए ।

उनले बजारमा पशुपंक्षी विक्रिवितरणका लागि सुविधा सम्पन्न संरचना निर्माण गरिएको जानकारी दिए । 

कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुलीले बजारका लागि आवश्यक अन्य संरचना निर्माणमा पनि मन्त्रालयलाई सहयोग गर्न आग्रह गरिन् । 

पशुपंक्षी बजार रंगेली नगरपालिकाको पहलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना मार्फत ३ करोड ७ लाख रुपैयाँको लागतमा निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेले जानकारी दिए । बजार २०७९ साल साउनमा निर्माण सम्पन्न भएपनि शनिबार मात्र उद्घाटन भएको हो ।

पशुपंक्षी बजारको उद्घाटन पछि रंगेली नगरपालिकालाई हस्तान्तरण समेत गरिएको छ । कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक दाहालले रंगेली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई बजारको सम्पूर्ण निर्मित संरचना हस्तान्तरण गरे । बजार रंगेली नगरपालिकाको स्वामित्वमा आएको छ ।

सुविधा सम्पन्न बजार निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीय निकै हर्षित भएका छन् । दक्षिणपूर्वी मोरङको सवैभन्दा ठुलो पशु बजारका रुपमा चिनिदै आएको बजार सुविधा सम्पन्न भएपछि हजारौँ कृषक लाभान्वित हुनेछन् । नेपालकै सवैभन्दा पुरानो र ऐतिहाँसिक बजारको इतिहास दुई वर्ष पुरानो रहेको रंगेली ९ का वडाध्यक्ष चुडामणी रेग्मीले बताए ।

उनका अनुसार बजारबाट पशुपंक्षीको व्यवसाय प्रवद्र्धन, प्रोत्साहन र बजारीकरण ठुलो सहयोग पुगेको भन्दै स्थानीय कृषकहरु हर्षित भएका हुन् । बजारमा पशुपंक्षीको विक्रिवितरण, पशुपंक्षीमा आत्मनिर्भर र स्थानीय जनताको जिविकोपार्जनमा समेत ठुलो टेवा पुग्ने रंगेली नगरपालिकाका मेयर बगडीयाले बताए ।