धरान/ बर्षौदेखिको खानेपानी समस्याको धरानमा दीर्घकालीन समाधान हुन सकेको छैन । धरानमा सुख्खा मौसममा खानेपानीको समस्या चुलिदै जाने गरेको छ ।

अझ एक हप्ता भन्दा बढी लामो समयदेखि भएको खडेरीका कारण धरानमा खानेपानी समस्या झन झन चुलिदै गएको छ ।

धरानमा दैनिक ३ करोड खानेपानीको आवश्यकता पर्दछ । विगतमा नेपाल खानेपानी संस्थान शाखा धरानले धरानको खानेपानी वितरण गर्ने गर्थ्याे र अहिले धरान खानेपानी बोर्डले पानी वितरण गर्छ । तर संस्था बद्लिए पनि धराने जनताको खानेपानी समस्या कहिल्यै समाधान भएन ।

मंगबालर धरान ३ को पुरानो बजारमा बोर्डले ट्यांकरमा पानी लगेर वितरण गरेको दृश्यलाई पनि हेर्न सकिन्छ । लगातारको खडेरीले पानीका मुहान सुकेका कारण सर्वसाधारणको धारामा पानी नआएपछि त्यहाँ पुगेको ट्यांकरमा पानी थाप्न तछाडमछाड गर्दै सर्वसाधारण पुगेका थिए ।

khane-pani-samasya-pic-3

स्थानीय सञ्जय श्रेष्ठले धारामा खानेपानी नआएकै कारण मिनिरल वाटर, जारको पानी किनेर प्रयोग गनुपर्ने अवस्था आएको बताए । खडेरी परेसँगै पानीको अति अभाव भएको उनको भनाई थियो ।

स्थानीय गृहणी जानुका विश्वकर्माले तीनचारदेखि धारामा पानी नआएपछि पिउने पानीसँगै लुगा धुन र बाथरुम र ट्वाइलेट जानसम्म समस्या भएको बताइन् ।

उनले हप्तादश दिनदेखि धरानमा पानी नआएको बताउदै उधुम गर्मी समय समयमा लाइन जाने र पानी पनि नहुदा धेरै समस्या भएको बताइन् ।

धरानको दीर्घकालीन खानेपानी समस्या समाधानमा सर्वसाधारण आशै आशमा जीवन वित्न लागेको सर्वसाधारणले बताउने गरेका छन् ।

khane-pani-samasya-pic-1

बर्षौदेखिको समस्या अहिले पनि उस्तै भएको बताउदै स्थानीय सुरज श्रेष्ठले बर्षौदेखि सुख्खा मौसममा ट्यांकरकै पानी थापेर चलाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले बराहक्षेत्रको कोकाहाबाट पानी ल्याउने मेयरको अभियान पनि धेरै समस्य लाग्ने देखिएकोले अहिले नै यो समस्या समाधान हुनेमा आशंका व्यक्त गरे ।

धरान खानेपानी बोर्डका ट्यांकर चालक.सुकविर राईले धरानमा खानेपानी समस्या भएकै कारण ट्यांरमार्फत पानी वितरण गर्दै आएको बताए ।

उनले बोर्डका अन्य ट्यांकरले धरानका विभिन्न ठाउँ पुगेर  सर्वसाधारणलाई खानेपानी वितरण गर्दै आएको बताए ।

धरानको खानेपानी समस्या समाधानमा स्वतन्त्र उमेद्वार हर्क साम्पाङ मेयर बनेपछि समाधानका लागि धेरै प्रयास नगरेको भने होइन ।

सेउती, सर्दु जलाधार क्षेत्रमा रहेका संरक्षण, पानी संकलनमात्र हैन अहिले बराहक्षेत्रमा पर्ने कोकाहाबाट पानी ल्याउने अभियानलाई समेत अगाडि बढाएका छन् ।

धरानको दीर्घकालीन समस्या समाधान कोशीबाट पानी ल्याउँदामात्र सम्भव हुन्छ भन्ने बुझेर मेयर साम्पाङको टोली काठमाण्डौका विभिन्न मन्त्रालयमा समस्या लिएर धरानको खानेपानी समस्या समाधानमा ध्यानकर्षण समेत गराएका थिए ।

तर आर्थिक बर्ष ०८०/ ८१ को बजेमटमा धरानको दीर्घकालीन समस्या समाधानमा परेन ।

धराने सर्वसाधारणको बर्षौदेखिको खानेपानी समस्या समाधानमा राज्य सत्ताको ध्यान पुग्न सकेको देखिदैन ।

धरानको खानेपानी समस्या सांसदहरुलाई सत्ता उक्लिने सिढीको रुपमा विगतदेखि नै प्रयोग गर्दैै आएका छन् । तर समाधानतर्फ कसैले ध्यान दिन सकेको छैन । जसले गर्दा बर्षौदेखि धरानेहरु सुख्खा मौसममा धरानेहरुले काकाकुलको जीवन विताउन बाध्य छन् ।