धरान/  लामो समयदेखि परेको खडेरीका कारण प्राणी जगतलाई समस्या भएको भन्दै धरान १४ पिण्डेश्वर मन्दिरमा ब्राम्हणहरुले यज्ञ गरेका छन् ।

लगातारको खडेरीका कारण पानी नपर्दा प्राणी जगतलाई नै समस्या परेको भन्दै भगवान शिवलाई पानी पारिदिन अनुरोध गर्दै २७ जना व्राम्हणले होमका यज्ञ गरेका हुन् ।

विश्वमा देखिएको प्रचण्ड गर्मी लामो खडेरीका कारण सम्पूर्ण प्राणी जगत, चराचुरुंगीलाई समस्या परेको भन्दै उनीहरुले प्रजन्य (बर्षा वृष्टि गर्ने) यज्ञ गरेका हुन् ।

भगवान शंकरको आराधान गर्दै यज्ञको आरम्भ गरिएको पण्डित धर्मराज तिम्सिनाले बताए । उनले विगतमा समेत लामो समय खडेरी पर्दा प्रजन्य यज्ञ लगाउने गरिए पनि विस्तारै यस्तो प्रथा हराउदै गएको बताए ।

तिम्सिनाले व्राम्हणहरुको सहभागितामा गरिएको यो यज्ञमा कसैलाई दक्षिण दिनुपर्ने स्वस्फूर्त रुपमा ब्राम्हणहरुले यो यज्ञको आयोजना गरिएको बताए। उनले यो यज्ञपश्चात पक्कै पानी पर्ने विश्वास लिएको बताए ।

२५ बर्ष अगाडि धरानको शिव मन्दिरमा यस्तै प्रकारको खडेरी हुदा ब्राम्हणहरुले प्रजन्य यज्ञ लगाएको स्मरण गर्दै त्यसबेला यज्ञ सकिनसाथ पानी परेको उनले बताए । तर यसपछि भने यो धरानमा पहिलो यज्ञ भएको उनले बताए ।

उनले यो यज्ञमा विश्वास गर्नेहरुले सहयोग  समेत गरेको बताए । विगतमा कोरोना संक्रमणको समयमा गीता मन्दिरमा राखिएको यज्ञमा समेत सहयोग गरेका धरान निवासी रमेश श्रेष्ठ र विमला श्रेष्ठ, दन्तकली इलेक्ट्रोनिक्सका सचालक पितरुमल अग्रवालले यो यज्ञमा समेत सहयोग पुर्‍याएको तिम्सिनाले बताए ।

२७ जना ब्राम्हण गुरुद्वारा रुद्री पाठ, रुघु रुद्री पाठ, चण्डी पाठ, वेद पाठ, हनुमानको जप, नागको जप गरेका थिए ।

लगातारको खडेरीले जनजीवन नै प्रभावित भएको अवस्थामा यज्ञ गर्दा पानी पर्ने विश्वास लिएर यज्ञमा खटिएका गुरुहरुलाई जलपानको व्यवस्था गरिएको धरान ७ की विमला श्रेष्ठ बताछिन्

 उनले कोरोना सक्रमणको समयमा धरानको गीता मन्दिरमा लगाएको यज्ञमा समेत सहयोग पुर्‍याएको र यज्ञपश्चात कोरोना संक्रमण कम हुदै गएको बताउँदै प्रजन्य यज्ञपश्चात पानी पर्ने विश्वास गरिन् ।

पिण्डेश्वर मन्दिर अगाडि विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म यज्ञ गर्ने स्थल नै बनाएर ब्राम्हणहरुले यज्ञ गरेका थिए । यो यज्ञ धरानमा २५ बर्ष पछाडि गरिएको बताइएको छ । सायद यस्तो खालको यज्ञ अन्यत्र नभएर धरानमा नै यो बर्ष पहिलो भएको ब्राम्हणहरुको दाबी छ ।

यज्ञ, जप जस्ता धार्मिक कार्यहरु सर्वसाधारणले विस्तारै छोड्दै गएको बताउदै समय समयमा यस्ता खालका यज्ञहरु गर्न सके पृथ्वीमा संकट नहुने उनीहरुले विश्वास व्यक्त गरेका छन्