धरान / तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन मौसम बिज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखालेअनुरोध गरेको हो ।

तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिएको जनाएको छ।

तसर्थ, देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छु, बुलेटिनमा उल्लेख छ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताए ।

समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेर तातो हावा तथा लू चलेको छ। नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी रहेको उनले बताए ।

लु को सम्भाबित असर र बच्ने उपाय

लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ।
तातो हावा तथा लूबाट हुने सम्भावित असरजस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माँसपेशी दुख्ने, बान्ता आदि हुनसक्छ ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने ९घाममा, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने,
नियमित पानी तथा झोल पदार्थ जुस सर्वत आदि. प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन आवश्यक छ