धरान/  परिवर्तनका लागि सामाजिक अभियानको साधारण सभाले विष्णु बराललाई ३ वर्षको कार्यकालका लागि पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । 

साधारण सभाबाट उपाध्यक्ष भोजराज श्रेष्ठ, सचिव त्रिभुवन बराल, कोषाध्यक्ष वर्षा अग्रवाल र सदस्यहरुमा विदुर थापा, प्रशान्त अग्रवाल, हेमचन्द्र ढकाल, जेनिश शाक्य र निशान नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

विधान अनुरुप बाकी २ सदस्य अध्यक्षले मनोनित गर्नेछन् भने सल्लाहकारहरुमा मोहन श्रेष्ठ, वासुदेव बराल र डा। प्रशान्त शाह रहेका छन् । उक्त सभामा कोषाध्यक्ष वर्षा अग्रवालले आर्थिक प्रतिवेदन एवम् सचिव बिदुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

२०७८ साल भाद्र ७ गते स्थापना भएको यस संस्थाले पाक्षिक रुपमा सामाजिक स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । डा। प्रशान्त शाहद्वारा स्वास्थ्य परिक्षण गरिने उक्त कार्यक्रम धरानका विभिन्न वडाहरु, बराहक्षेत्र, इनरुवा र झापामा समेत आयोजना भएको अभियानका अध्यक्ष बिष्णु बरालले बताए ।

“विशेष गरि मुटु, रक्तचाप र मधुमेह सम्बन्धि स्वास्थ्य जाच गरिने क्लिनिक जेष्ठ बुवाआमाहरुका लागि निकै नै प्रभावकारी रहेको छ” बरालले बताए । निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ३८ औं संस्करण सम्पन्न भईसकेको छ । 

साधारण सभाबाट सामाजिक स्वास्थ्य क्लिनिकमा बिरामीहरुलाई फलोअप गर्न सजिलो होस् भन्ने हेतुले मोबाईल एप्स तयारीका लागि सदस्य निशान नेपाललाई जिम्मेवारी समेत तोकिएको छ । 

अभियानले विशेष गरि सामुदायिक विद्यालयमा अध्ययनरत केही विद्यार्थीहरु छनौट गरि “घरको स्कुल” कार्यक्रम मार्फत निःशुल्क पढाईरहेको छ । यस कार्यक्रमलाई अझ उत्कृष्ट बनाउन त्रिभुवन बराल र राजु फुयाल सदस्य रहने गरि उपाध्यक्ष भोजराज श्रेष्ठको संयोजकत्व एक समिति समेत तयार गरेको छ । 

अभियानले स्वास्थ्य र शिक्षा सम्बन्धि कार्यक्रमहरु संगसंगै विभिन्न प्रकारका प्रशिक्षण, चित्रकला कार्यशाला र पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण समेत गरेको थियो ।