सुनसरी /  केही दिन देखि बढेको अत्याधिक तापक्रम आज देखि घट्ने सम्भावना बढेको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्प युक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहने भएको छ ।

तराईका भू-भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिने महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा लेखिएको छ ।

शनिबार रातिदेखि नै कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ । कोशी प्रदेशको विराटनगरमा शुक्रबारदेखि नै तापक्रम घटेको थियो ।

बिहीबार विराटनगरको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेकोमा शनिबार ३५.३ मापन भएको थियो ।

अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् ।

मौसमविदहरुका अनुसार आज कोशी प्रदेश सहित मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ ।