धनकुटा / नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन् । 

नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमाले नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको बताए ।

 संसदबाट निर्वाचित हुनुपर्ने ठाउँमा अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै अराजकताको सुरुवात भएको उनको भनाई छ ।

 ‘गठबन्धन र गठबन्धन सरकारले गर्न हुने/नहुने सबै काम गरिरहेको छ, यसले देश अराजकता तर्फ गइरहेको छ, देश आर्थिक मन्दीमा फसेको छ,’ नेता ज्ञवालीले भने, 

‘काठमाडौंका ३० प्रतिशत व्यापारिक सटरहरु बन्द भएका छन्, नागरिकहरू आर्थिक मन्दीले थप निरास छन् ।’

 गठबन्धन सरकारले भुटानी शरणार्थी प्रकरणमा गैरकानूनी साँठगाँठ र बजेट निर्माणमा मनपरी गरेको भन्दै उनले गठबन्धनकै कारण अहिले देश अराजकतासँगै आर्थिक सङ्कटमा फसेको उल्लेख गरे । 

कोशी प्रदेशको नामकरणका विषयमा सरकारमै रहेका दलहरूकै नेता कार्यकर्ताको संलग्नतामा एमाले नेताहरूलाई आक्रमण गरेर अराजकतालाई थप उदाङ्गो पारिएको नेता ज्ञवालीले बताए ।

 पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रमा आइतवारसम्म चल्ने प्रशिक्षणमा स्कुलिङ विभाग प्रमुखसमेत रहेका नेता ज्ञवालीसहित एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपाने, स्कुलिङ विभाग प्रमुख गुरु बराल लगायत नेताहरूले प्रशिक्षण दिने एमाले धनकुटाका स्कुल विभाग प्रमुख मनोज राईले जानकारी दिए ।

 प्रशिक्षण कार्यक्रममा एमाले धनकुटा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र जनवर्गीय सङ्गठनका प्रमुखहरू सहभागि छन ।