विराटनगर / नेपाल प्रेस युनियन सुनसरीले पत्रकारको क्षमता विकासका लागि एकदिने प्रशिक्षण सञ्चालन गरेको छ ।

प्रशिक्षणको सुनसरी स्थित हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले उद्घाटन गर्नु भयो । हरिनगरा गाउँपालिकाको सभाहलमा आयोजित तालिममा पत्रकारिताका आचारसंहिता, पत्रकारितामा प्रविधिको प्रयोगलगायतका विषयमा जानकारी दिइएको थियो ।

पत्रकार कृष्ण अधिकारी, अमर खड्का, चेतन धमलालगायतले तालिममा सहजीकरण गर्नु भएको थियो । प्रेस युनियन सुनसरीका अध्यक्ष धुर्ब ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अन्सारीले सुनसरीको दक्षिण क्षेत्र विकासमा पछाडि परेको गुनासो गर्नुभयो । 

उहाँले आफूले धेरै विकास गरे पनि सञ्चार माध्यममा नआएको गुनासो पोख्नुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितले विकास र ग्रामीण पत्रकारितालाई जोड दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले राजनैतिक विषयभन्दा आर्थिक र सामाजिक मुद्दालाई पत्रकारले लेखनको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा युनियनकी केन्द्रीय सचिव रेजिना गौतमले प्रशिक्षण वर्षका लागि पाठ्यक्रम तयार भइरहेको जानकारी दिनुभयो ।

उहाँले पत्रकारको क्षमता विकासका लागि युनियनले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्ने बताउनुभयो ।

सो अवसरमा सुनसरीका पूर्वअध्यक्ष गणेश निरौला, धनबहादुर पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । युनियनले २०८० लाई प्रशिक्षणको वर्ष घोषणा गरेको छ ।

केन्द्रीय समितिले घोषणा गरेको अभियानलाई सुनसरीको ग्रामीण क्षेत्रबाट सुरु गरिएको अध्यक्ष धुर्ब ढकालले जानकारी दिनुभयो । तालिममा सुनसरीका ४० जनाभन्दा बढी सक्रिय पत्रकारको सहभागिता रहेको थियो ।