धरान/  बोलबमको समयमा धरान १४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा भक्तजनको आगमन न्यून रहेको छ ।

विगतका बर्षहरुमा बोलबमको समयमा अत्याधिक भक्तजनहरु आए पनि धरानमा फैलिएको डेंगु संक्रमण र मलमासका कारण सोमबारको दिन पनि चहलपहल कम रहेको छ ।

विगतमा मलमासमा समेत भक्तजनहरु कम आउने गरेका थिए । तर यस बर्ष मलमासले मात्र हैन धरान डेंगु संक्रमण भयावह बन्दा धरान आउन नै अन्य ठाउँका सर्वसाधारण डराउने गर्छन् ।

पिण्डश्वर मन्दिरमा भेटिएकी लालीगुरास नगरपालिकाकी गीता बानियाले छोरालाई डेंगु भएका कारण उपचारका लागि आएको र अहिले सञ्चो भएपछि पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताइन् ।

उनले भनिन्–‘मलाई धरान आउनै मन थिएन, छोरालाई छुट्टीको समयमा धरानमा आफन्तकोमा पठाएको थिएँ,

त्यही बेला डेंगु भएछ, उपचारका लागि धरान आउनै पर्‍यो, छोरालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेपछि सञ्चो भयो र आज विहान दर्शन गर्न पिण्डेश्वर आएकी हु ।’

उनी धरान आजै फर्किने तरखरमा छिन् । यस्तै मोरङको उर्लाबारीबाट आएका अमन भट्टराईले समेत बोलबममा आउन डेंगुकै कारण डर भइ भई आएको बताए ।

उनले भने–‘आज सोमबार पिण्डेश्वरमा बोलबमको समयमा जल चढाउँदा पुण्य हुने भएर नै आएको हुँ, डेंगु भयावह रहेछ फर्किहाल्छु ।’

यी दुई त प्रतिनिधिपात्र मात्र हुन् मलमास भन्दा पनि धरान डेंगु संक्रमको डेन्जर जोनभित्र पर्ने सञ्चारमाध्यमबाट थाहा पाएपछि सधै भरिभराउ हुने पिण्डेश्वर मन्दिरमा भक्तजन कम आएका छन् ।

पिण्डेश्वर बाबा धाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरेले विगतमा मलमास पर्दा पनि भक्तजनहरु कम आउने गर्थे तर यस्तो अवस्था भने नभएको उनले बताए ।

उनले भने–‘मलबासमात्र हैन डेंगुकै त्रास हुनुपर्छ, यसपटकको सोमबार भक्तजन अत्यन्तै न्यून संख्यामा आएका छन् ।’

कोशी प्रदेशमा करिब ४ हजार हाराहारीमा डेंगु संक्रमण हुदा धरानमा मात्र संक्रमणको संख्या ३ हजारको हाराहारीमा रहेको छ ।

डेंगुकै कारण यस बर्ष बोलबम मेला समेत प्रभावित भएको छ । विगतको साउनको सोमबार प्रत्येक हप्ता १ देखि २ लाख भक्तजन आउने गरेपनि यस बर्ष भने ५÷१० हजार भक्तजन पनि नआएको समितिले जनाएको छ ।