इटहरी/  इटहरी उपमहानगरपालिकामा वृद्धि भएको कर समायोजन र पुनरावलोकन गर्न समिति गठन भएको छ ।

भदौ मसान्त भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी सहित साउन २६ गतेको कार्यपालिका बैठकबाट समिति गठन भएको हो । 

समितिले आर्थिक ऐन २०८० को करका दर, सेवा शुल्क र दस्तुरको अध्ययन गरी समायोजन वा पुनरावलोकनको लागि राजस्व परामर्श समितिको मार्फत उपमहानगरलाई बुझाउनु पर्ने भएको छ ।

राजस्व वृद्धिमा विरोध सुरु भएपछि समिति गठन गर्न उपमहानगरपालिका बाध्य भएको हो । 

वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा गठित समितिमा अन्य वडाध्यक्षहरू दिवस पोखरेल, रतन कार्की र प्रभात कुमार आचार्य सदस्य छन् ।

त्यस्तै नेपाल सरकारका पूर्व उपसचिव गणेश प्रसाद दाहाल र कर तथा राजस्व सम्बन्धी विज्ञ पोषराज नेपाललाई पनि सदस्य चयन गरिएको छ ।

  कपुरीन्युजका लागि इटहरीबाट विनय बाह्कोटीले लेखेको समाचारमा भनिएको छ

‘समिति बनेको ५ दिनसम्म कुनै छलफल वा परामर्श हुन सकेको छैन ।’ समितिका सदस्य सचिव रहेका राजस्व शाखाका अधिकृतले पत्र मार्फत बैठकको लागि आह्वान गरिएको जानकारी दिए ।

समितिका संयोजक सुवेदी नगर प्रमुखबाट कार्यादेश (टर्म्स अफ रेफरेन्स) नपाएको कारण बैठक र परामर्शमा ढिला भएको बताउँछन् ।

कार्यादेश आए पश्चात् छलफल र परामर्श गरेर प्रतिवेदन बुझाउने उनले बताए । 

कार्यपालिकाले निर्णय गरेर अधिकार दिएको समितिले समेत पुनः कार्यादेशको अपेक्षा गरिरहेको छ ।

कार्यादेश पश्चात् बैठक बस्ने भन्दै संयोजक सुवेदीले अन्य सदस्यहरूसँग परामर्श गरेका छैनन् ।

जसले गर्दा वर्तमान समितिले नगर प्रमुख हेमकर्ण पौडेलले दिएको विषय र शीर्षकको आधारमा कर समायोजन प्रतिवेदन तयार पार्ने देखिन्छ ।