धरान/ सुकुम्बासी समस्या सँगै धरानको सर्दु जलाधार, एयरपोर्ट लगायतका समस्याहरुको समाधानका लागि पहल गर्न माग गर्दै मोहन वैध ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले धरान उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । 

पार्टीले बुधबार उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई एक्काइस बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो । पार्टीले धरानमा देखिएको वित्तीय संस्थाका समस्या, कालोबजारी, निजी विद्यालयको चर्को शुल्क, मेडिकल माफिया, धरानको नयाँ बसपार्क सञ्चालन,

मातृभाषा पठनपाठन, सामाजिक सद्भाव, असंगठित श्रमिकका समस्या, कृषि अनुदानमा अनियमितता, फोहोरमैला व्यवस्थापन, लागूऔषध दुव्र्यसन, सवारी व्यवस्थापन, खानेपानी समस्या समाधान र दीर्घकालीन परियोजनाको पहल, बिपी प्रतिष्ठान मार्फत् प्राप्त स्वास्थ्य सुविधा र बालविकास केन्द्रको दर्ता प्रक्रिया लगायतका विषयमा पहल गर्न माग गर्दै मेयर राईको ध्यानाकर्षण गराएका छन् । 

पार्टीले मागपत्रमा विगत लामो समयदेखि श्रमजीवि उत्पीडित जनताको पक्षमा निरन्त संघर्ष गरिरहेको उल्लेख गरेको छ ।

ज्ञापनपत्रमा लेखिएको छ, ‘यस धरान उपमहानगरपालिकाभित्र रहेका समस्याको समाधान तथा पहल गर्नका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल धरान नगर समिति जोडदार माग गर्दछ ।’ 

मेयर राईले धरानमा भएका समस्या हल गर्ने लागि परिरहेको बताएका छन् । उनले सबै कुराको समाधान एकै पटक नदेखिए पनि सुधार हुँदै गएको बताए ।

उनले भने, ‘अनुगमनलाई निरन्तरता दिएका छौं, खानेपानी, स्वास्थ्य, बजार र ट्राफिक व्यवस्थापन, भानुचोकको भीडभाड र गाडीको व्यवस्थापन गरिरहेका छौं ।’